
काठमाडौं, संविधान संशोधनको माग पूरा नभएको भन्दै राष्ट्रिय जनता पार्टी, नेपालले संसद अवरुद्ध गरेको छ। प्रतिनिधिसभाको बैठकको सुरुमा नै राजपाका सांसदहरू उभिएर बैठक अवरुद्ध गरेका हुन्। संविधान संशोधनको माग पूरा गराउन सभामुखले रुलिङ गर्नुपर्ने राजपाको माग थियो। राजपाका सांसद प्रमोद साहले सरकार संघीयता विरोधी भएको पनि आरोप
लगाउनु भएको थियो । संघीय सरकारका काम कारबाही संघीयता विरोधी भएको साहले आरोप लगाउनु भयो । उहाँले भन्नु भयो, संघीयता नाजायज औलाद जस्तो भयो। नचाहँदा नचाँहदै जन्मिएको बच्चा जस्तो भयो। संघीयताको विरुद्ध संघ सरकारले काम गरिरहेको छ। साहले थप्नु भयो , बजेट विनियोजन भयो तर त्यो हेर्दा संघीयता विपरीत भएको छ। विगतमा भन्दा पनि बजेट काटिएको छ। प्रदेश र स्थानीय तहमा कर्मचारी पुगेका छैनन्। बजेट प्रदेश सरकारको काटिएको छ। प्रदेशलाई संचालन गर्ने किसिमले संघ सरकार अगाडि बढेको छ। प्रदेश सरकारलाई काम गर्न नदिइएको साहको भनाइ थियो। उहाँले भन्नु भयो, बिना सेना, बिना प्रहरी र बिना हतियारको प्रदेश सरकार हुन्छ ? यस किसिमको प्रक्रिया जुन भइरहेको छ त्यो बन्द गर्नुपर्ने हो। साहले संविधान संशोधन आवश्यकता र औचित्यका आधारमा हुने भनेकाले त्यो कहिले हुन्छ ? भनेर प्रश्न गर्नु भएको थियो ?
