
काठमाडौं , मानव अधिकार तथा शान्ति समाजले सबैका लागि सुलभ गुणस्तरीय वैज्ञानिक शिक्षाका पक्षमा नयाँ अभियान सञ्चालन गर्ने भएको छ । समाजको २४ औँ स्थापना दिवसका सन्दर्भमा सार्वजनिक अवधारणापत्रमा सुलभ गुणस्तरीय वैज्ञानिक शिक्षाको नयाँ अभियान सञ्चालन गर्ने उल्लेख गरिएको छ ।
‘सबैका लागि सुलभ गुणस्तरीय वैज्ञानिक शिक्षा र आम नागरिकका लागि सुलभ गुणस्तरीय स्वास्थ्य सेवा भन्ने आह्वान सहित भविष्यमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा नयाँ अभियान सञ्चालन गर्ने शान्ति समाजको दृष्टिकोण रहेको छ’ उक्त अवधारणा पत्रमा भनिएको छ ।
‘झट्ट हेर्दा कतिपय अभियानको प्रभावकारीता न्युन देखिन सक्छ तर पनि शान्ति समाजको प्रयास जारी छ’ समाजका सभापति उत्तम पुडासैनीद्वारा सार्वजनिक अवधारणापत्रमा भनिएको छ । ‘मानव अधिकारका कतिपय सबालमा विस्तुत अभियान सञ्चालन गर्न नसके पनि अवधारणा विकसित गरी थप अभियानका लागि विजारोपण गर्ने काम शान्ति समाजले गरेको छ ’अवधारणापत्रमा भनिएको छ ।
२४ औँ स्थापना दिवसका दिन जेठ १९ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा समाजले मुख्य दलका नेताहरूसहित मानव अधिकार आन्दोलनको नयाँ धारमा छलफल गर्ने तय गरेको जनाएको छ । शान्तिका लागि काव्य भन्ने आह्वानसहित २०६८ साल मंसिरमा समाजले शान्ति काव्य प्रवाह प्रारम्भ गरेको थियो ।
२०७२ असोज ३ गते नेपालको संविधान जारी भए पछि भएको नाकाबन्दीलाई समाजले मानवता विरुद्धको अपराधको संज्ञा दिदैं विरोधमा अभियान सञ्चालन गरेको थियो । २०७३ सालमा समाजले लागूऔषध ÷मदिरा दुव्र्यसन विरुद्ध अभियान गरेको थियो ।
यस अघि २०७२ देखि समाजले हिमालय बचाउ आन्दोलन अघि सारेको छ । सुशासनका लागि शान्ति समाजले स्थापना कालदेखि नै आवाज उठाउँदै आएको छ । यो समाचार सौर्य दैनिकमा छ ।
