सरकारको बिकल्प खोज्दै जनता सडकमा

४ असार २०७६, बुधबार १३:२३

बिष्णु प्रसाद शर्मा,

सोझा नेपाली जनतालाई प्रजातन्त्रको नाममा लामो समय देखि ठग्दै आएका काँग्रेस र कम्युनिष्टहरुको असली चरित्र उदांङग हुँदै आएको छ । यातायात , किसान , शिक्षक, पत्रकार , गुठी र डाक्टर नर्सको नाममा सामन्ती , परतन्त्रवादी र एकतन्त्रिय शासन संचालन गदै सत्ता कव्जा गर्ने कठोर प्रयासलाई सवै जनताले प्रस्ट संग बुझि सकेको यो एउटा कटु सत्य प्रति सवै नेपाली जनता एकजुट हुँदै यी पराधिनहरुलाई पछाडि धकेलनका लागी जनता नै उठनु पर्ने जरुरी देखिएको छ ।

बर्तमान सरकारले एक पछि अर्को गदै बिवादित बिधेयक ल्याउने गलत काम गरिरहेको छ । गुठी बिधेयकका बिरोधमा काठमाण्डौंमा नारा जुलुश सहित आन्दोलन भइरहेको छ । आज पनि माईतिघरबाट बिरोध जुलुश भएको छ । सरकारले जनअपेक्षा अनुसार काम गर्न सकेन । जनता यो सरकार प्रति पुरै निराश छन । जनता निराश हुनु भनेको राम्रो संकेत होइन , यो कुरा शासकले बुझन जरुरी छ । सरकारको बिकल्प खोज्दै नागरिक सडकमा आउन थाले । यो भन्दा खतराको घण्टी के हो ? नेपाली जनता सधै भरी धर्य भएर बस्न सक्दैनन् । यदि जनताको धर्यको बाँध फुट्यो भने सवैलाई बगाउने निश्चित छ ।

तसर्थ सवै नेपाली जनताले वैदिक सनातन धर्म , पौरस्त्य संस्कार चलाउन राखिएका गुठी र ३३ सालको ऐनले गुठी संस्थानको स्थापना भै पुर्खाले राखेका गुठीका सम्पत्तिहरु हिनामिना मात्रै नभएर राष्ट्रकै हुर्मत लिएर सत्ता कव्जा गर्न खोज्नु कुनै हालतमा उचित होइन , यसको रक्षार्थ नेपाली जनता नै उठनु पर्ने आबश्यकता देखिएको छ । जनता नउठे सम्म शासकले कुरा सुन्दैन । यो सरकारको बिकल्प खोज्दै अगाडी बढनु पर्ने जरुरी छ । यो सरकारले आफूलाई सुर्धार्ने कुनै कोशिस नै गरेन । जनता पुरै असन्तुष्टि छन । देशमा बिकास र समृद्दि गर्ने लक्ष्य लिएको सरकार अहिले अनाबश्यक बिवादमा मुछिदै आएको छ । नेपाली जनतालाई भुक्याएर धेरै कुरा बाहिर पुयाउने यी नव सामान्तिहरुको भरमा देशलाई छोडनु पुनः गलत हुन जान्छ र फेरी नेपालीत्व पनि झनै संकटमा पर्ने खतरा देखिएको छ ।

देशमा भएको बिकृति , बिसंगति , भ्रष्टाचार र कालोवजारीले जनता वाक्क दिक्क छन । राजनीतिक दलहरुको गलत कार्य शैलीका कारण जनता राजसंस्था प्रति आस्था राख्न थालेको अवस्था देखिन्छ । देशमा धेरै समस्याहरु आइरहेका छन । सरकारमा बस्ने र सरकारको वरीपरि घुम्ने आसेपासे बाहेक नागरिकले यो सरकारबाट के राहत पाए ? महंगीले आकाश छोएको छ । बेरोजगार युवाहरु बाटोमा भौतारिदै हिडिरहेका छन । देशमा रोजगारको अवसर नपाएर धेरै युवाहरु बिदेश पलायन छन । यो भन्दा लाजमर्दो कुरा अरु के हुन सक्छ ? कुरा ठूला ठूला गर्ने ब्यवहारमा सिन्को समेत भाँच्न नसक्ने कुराले देशमा समस्या आएको छ । शर्मा, नेपाल संरक्षण अभियानका केन्द्रिय संयोजक तथा राजनीतिक बिश्लेषक हुनु हुन्छ ।