संविधान विरोधी विधेयक कुनै पनि हालतमा संसदबाट पास हुन दिदैनौंः देउवा

४ असार २०७६, बुधबार १४:४७

काठमाडौं , प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले प्रतिपक्षी दललाई हेपेको आरोप लगाउनु भएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा सभामुखसँग समय लिएर बोल्दै संसदीय दलका नेता शेरबहादुर देउवाले प्रतिपक्षी दललाई सरकारले हेप्ने गरेको बताउनु भएको हो ।

उहाँले सरकारले विपक्षी दलमाथि बलमिच्याइँ गर्दै अघि बढेको भन्दै त्यो कुनै पनि अवस्थामा आफूहरुलाई त्यो स्वीकार्य नहुने चेतावनी दिनु भयो । विपक्षी दलका नेता बोल्दा प्रधानमन्त्री सदनमा उपस्थिति हुनुपर्ने भन्दै उहाँले सरकारले प्रतिपक्षी दललाई सधै हेप्ने गरेको आरोप लगाउनु भयो । उहाँले भन्नु भयो , “प्रधानमन्त्री बोल्दा पनि विपक्षी नेता उपस्थित हुनुपर्छ । विपक्षी नेता बोल्दाखेरी प्रधानमन्त्री आउनैपर्छ । तर यहाँ उनले जहिले पनि हेप्ने काम गरेका छन् ।” उहाँले मंगलबार संसदमा विपक्षी दलका नेतालाई बोल्न नदिएको सरकारले विपक्षी दलमाथि बलमिच्याइँ गरेको आरोप लगाउनु भयो ।

कांग्रेस नेतृत्वको सरकारमा प्रतिपक्षीमा बसेर ४८ दिनसम्म लगातार संसद अरुद्ध गरेको स्मरण गराउँदै उहाँले आफूहरुले बोल्नका लागि मात्रै समय मागरेको बताउनु भयो ।

उहाँले संसदीय प्रक्रियामा प्रवेश गरिसकेको विधेयकलाई संसद बाहिर गएर फिर्ता लिने काम गरको भन्दै आपत्ति जनाउनु भयो ।
उहाँले मिडिया काउन्सिल विधेयक, सूचना विधेयक, मानवअधिकार आयोग लगायतका संविधान विरोधी विधेयक कुनै पनि हालतमा संसदबाट पास हुन नदिने चेतावनी दिनु भयो ।