
काठमाडौं , नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) को प्रदेश नम्बर ३ अन्तर्गतका १० जिल्ला कमिटीले पूर्णता पाएका छन् ।
प्रदेश नं ३ का १३ जिल्ला कमिटीमध्ये अहिलेसम्म काठमाडौं, भक्तपुर, धादिङ, मकवानपुर, दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, रसुवा र नुवाकोटमा जिल्ला कमिटीले पूर्णता पाएको हो ।
अहिलेसम्म ललितपुर, काभ्रेपलाञ्चोक र चितवन जिल्लाको कमिटी गठन भइनसकेको प्रदेश कमिटीले जनाएको छ । बाँकी रहेका तीन जिल्लामा आगामी सातासम्ममा टुंगो लागिसक्ने प्रदेश कमिटी इञ्चार्ज अष्टलक्ष्मी शाक्यले बताइन् ।
उनले भनिन्, ‘बाँकी जिल्लामा पनि कमिटी गठनका लागि आवश्यक गृहकार्य भइरहेको छ ।’
मंगलबार धादिङ कमिटीको शपथग्रहण भएको प्रदेश कमिटीले जनाएको छ । भोलि बुधबार मकवानपुर र बिहीबार सिन्धुली जिल्ला कमिटीको शपथग्रहण कार्यक्रम रहेको छ ।
कमिटी गठन गर्दा वरिष्ठतालाई प्राथमिकता दिइएको इञ्चार्ज शाक्यले जानकारी दिइन् । पूर्व नेकपा ९एमाले० र माओवादी केन्द्र दुवै पार्टीमा लामो समय काम गरेको अनुभव र क्षमतालाई मापदण्ड बनाइएको उनको भनाइ छ ।
उनका अनुसार महिला, जनजाति, दलितलगायतलाई समेटेर समावेशी कमिटी बनाउन लागिएको छ । जिल्ला कमिटी गठन गर्दा पर्याप्त छलफल भएको उनले बताइन् ।
१३ वटै जिल्लाको जिल्ला कमिटी गठन भइसकेपछि नगर, गाउँ र वडा कमिटीको गठन हुनेछ । गत ४ गते बसेको प्रदेश कमिटीको बैठकले जिल्ला कमिटीलाई चाँडो पूर्णता दिने निर्णय गरेको थियो । राजधानी दैनिक
