
काठमाडौं, राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले सबैको अपनत्व हुने गरी संविधान संशोधन गर्न माग गर्नु भएको छ ।
प्रतिनिधिसभाको आजको बैठक सुरु हुने बित्तिकै विशेष समय लिएर बोल्दै उहाँले एक वर्षसम्म पनि यो संविधान संशोधनको आश्वासन पूरा नगरेको आरोप लगाउनु भयो ।
यादवले भन्नु भयो , ‘ विगतमा संविधान संशोधनलाई लिएर सरकारलाई हामीले समर्थन गरेका थियौँ । एक वर्षसम्म समर्थन गर्दा पनि सरकारले आश्वासन पूरा गरेन।’
विगतमा राजपा, फोरम, माओवादी र कांग्रेसले संविधान संशोधनका पक्षमा भोट हालेको स्मरण गर्दै उहाँले भन्नु भयो , ‘आज ती सबै पार्टी यहीँ छौँ । त्यसैले संशोधनको विषयमा सरकारको प्रष्ट धारणा हुनुपर्छ । अहिले नेपाली जनता पहिचान र अधिकारबाट बञ्चित छ । संविधानका केही कुरालाई हामीले आत्मसात गरेका छौँ । प्रदेशको मातहत स्थानीय तहलाई राख्नुपर्छ । सबैले अपनत्व लिनेगरी संविधान संशोधन हुनुपर्छ।’
उहाँले ०५२ सालमा माओवादीका ४१ बुँदे मागलाई समयमै सम्बोधन नगर्दा सशस्त्र द्वन्द्व भएको उदाहरण दिँदै भन्नु भयो , ‘हाम्रो मागलाई सुनुवाइ गरिएन भने परिणाम गम्भीर हुनसक्छ।’
यादवले मधेश आन्दोलनबारे छानबिन गर्न ०७३ असोज २ गते पूर्व न्यायाधीश गिरिशचन्द्र लालजीको नेतृत्वमा गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न पनि माग गर्नु भयो । उहाँले भन्नु भयो , ‘जब हाम्रो धैर्यको बाँध टुट्छ, हामीले बाध्य भएर अर्को कदम चाल्नुपर्छ । त्यसको लागि सरकार जिम्मेवार हुन्छ।’
