अहिलेपनि मेरो ज्यानमाथि असुरक्षा छः द काठमाडौं मल व्यापार संघकी अध्यक्ष सुष्मा महरा

२ जेष्ठ २०७६, बिहीबार १५:१९

काठमाडौं, द काठमाडौं मल व्यापार संघकी अध्यक्ष सुष्मा महराले मलमा करोडौंको घोटाला भएको कुरा प्रमाणसहित बाहिर ल्याउँदापनि सरकारले अहिलेसम्म छानबिन गरि घोटालामा संलग्नहरुलाई कारबाही नगरेकोमा गुनासो गर्नु भएको छ ।

बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरि यस्तो गुनासो गर्नु ख्भएको हो । अध्यक्ष महराले मलमा भएको करोडौंको आर्थिक घोटालाबारे आफूहरुले सुरुवातदेखिनै आवाज उठाएको तर सम्बन्धित सरोकारवाला निकायहरुले अहिलेसम्म यसबारेमा कुनै कारबाही नगरेकोमा आक्रोश हुनु भयो ।

महराले आफूहरुले मलमा भएको ज्यादती र घोटालाबारे बोल्दा उल्टै घोटालामा संलग्न व्यक्तिहरुले गुण्डा लगाएर भौतिक आक्रमणसमेत गरेको बताउनु भयो । उहाँले भन्नु भयो , ‘ममाथि ज्यान मार्ने उद्देश्यले भौतिक आक्रमण नै भयो । तर, अहिलेसम्म यसबारेमा सरकारले केही कदम चालेन् । म कहाँ–कहाँ जान्छु भन्ने कुरा तिनीहरुलाई थाहा हुन्छ, उनीहरु मेरो पिछा गरेर हिँडिरहेका छन् । अहिलेपनि मेरो ज्यानमाथि असुरक्षा छ ।’

त्यस्तै, उहाँले आफूसँग सहकार्य गरेर हिँडिरहेका पीडित व्यापारी साथीहरुलाई पनि गुण्डाहरुले दुःख दिने काम गरिरहेको जानकारी
दिनु भयो । उहाँकाअनुसार दर्जनौं साथीहरु अहिलेपनि पीडामा छन् । उहाँले भन्नु भयो , ‘नयाँ व्यवसायी साथीहरुलाई आफ्नो साथमा लिएर मलमा घोटाला गर्ने गुण्डाहरु हिँडिरहेका छन् ।’ महराले मलमा देखिएको घोटालाबारे सञ्चयकोष बेखवरजस्तै बनेको पनि आरोप लगाउनु भयो ।

उहाँले आर्कोश हुदै भन्नु भयो , ‘अब जतिसक्दो चाँडो सञ्चय कोषले नयाँ वैज्ञानिक भाडादर कायम गरेर एग्रिमेन्ट गरिदिनुपर्छ । हामीले कम्तिमा पनि तीनदेखि पाँच वर्षसम्मको लागि सम्झौता कायम गर्नुपर्ने माग गर्दै आएका छौं ।’ नयाँ टेण्डर खोल्दापनि वैज्ञानिक भाडादर कायम गरिनुपर्ने उहाँको माग छ ।

आफूले सुरुवातदेखि नै घोटालाबारे बोल्दै आएको सुनाउँदै उहाँले आफूलाई ती घोटालामा संलग्न व्यक्तिहरुले एक दिन ज्यान मार्नेसम्मको खुलासा गर्नु भयो । उहाँले भन्नु भयो , ‘मैले बोलेपनि÷नबोलेपनि मलाई ती गुण्डाहरुले मारिहाल्छन् । तर, म नबोलेर मर्नुभन्दापनि बोलेर मर्न चाहन्छु । सायद आजको पत्रकार सम्मेलन मेरो अन्तिम पत्रकार सम्मेलनपनि हुनसक्छ ।’

कार्यक्रममा संघका सल्लाहकार उज्वलजंग शाहले पनि मलमा भएको विसंगतिका बारेमा बोल्दा उल्टै आफूहरुलाई भौतिक रुपमै आक्रमण भएकोमा दुःखेसो पोख्नु भयो । आफूहरुले घोटालाबारे प्रमाणसहित सत्य कुरा बाहिर ल्याउँदा पनि सरोकारवाला निकायले कुनै चासो नदेखाएको पनि उहाँले गम्भिर आरोप लगाउनु भयो ।

उहाँले आफूहरुमाथि भौतिक आक्रमण भएको आज महिना दिन बित्न लाग्दापनि अहिलेसम्म सरकारले आक्रमणमा संलग्न व्यक्तिहरुलाई कुनै कारबाही नगरेकोमा आपत्ति जनाउनु भयो । उहाँले भन्नु भयो , ‘हामीमाथि आक्रमण गर्नेहरु अहिलेपनि खुलेआम हिँडिरहेका छन् । तीनीहरुले अहिलेपनि हामीलाई फोनबाट ज्यान मार्ने धम्की दिईरहेका छन् । हाम्रो ज्यान असुरक्षित छ ।’

आफूहरुले आक्रमणलगत्तै किटानी जाहेरीको लागि प्रहरी प्रशासन धाउँदासमेत कुनै सुनुवाई र सहयोग नभएको पनि उहाँले दुःखेसो गर्नु भयो । उहाँले भन्नु भयो , अहिले कानूनी राज्यको उपहास भएको छ । हामीमाथि आक्रमण गर्नेहरुको नाम नै किटान गरेर उजुरी दिन जाँदासमेत प्रहरी प्रशासनले किटानी लिएन ।’

मलमा घोटाला गर्नेहरुले राजनीतिक पहुँचको आधारमा आफूहरुजस्तो व्यवसायीहरुलाई धम्क्याउने काम गरेको उहाँको भनाई छ । उहाँले भन्नु भयो , ममाथि दिन प्रतिदिन भौतिक आक्रमण भैरहेको छ। तर, प्रहरी प्रशासनले भने कारबाही गर्नुको साटो कानमा तेल हालेर बसेको छ ।’

कार्यक्रममा मलमा व्यवसाय गर्दै आएकी अजिता सिटौलाले आफूहरुले मलमा भएको अनियमितताको बारेमा बोल्दा उल्टै धम्की खाईरहेको सुनाउनु भयो । उहाँले सरकारले मलमा भएको आर्थिक घोटालाबारे यथाशिघ्र छानबिन गरि दोषीलाई कारबाही गर्नुपर्ने र मलमा व्यवसाय गर्नेहरुलाई आगामी दिनमा पनि व्यवसायलाई निरन्तरता दिने वातावरण सिर्जना गर्नुपर्ने माग गर्नु भयो ।

त्यस्तै, कार्यक्रममा संघकी सदस्य अनिता बुढाथोकीले पनि मलमा भएको घोटालाबारे बोल्दा उल्टै ज्यान मार्न खोज्नु कानुनी राज्यको धज्जी उडाउने काम भएको टिप्पणी गर्नु भयो ।