आरोहीहरु विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा

१ जेष्ठ २०७६, बुधबार १०:१३

काठमाडौं , विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहणका लागि यो वर्षको बसन्त ऋतुका आरोहीहरु पुग्न शुरु गरेका छन् । मंगलबार दिउँसो १ बजेर ४५ मिनेटमा जाँदा आठ जना नेपाली आरोहीहरु साउथ कोल ९दक्षिणी ध्रुव० बाट ८,८४८ मिटरको उचाईमा पुगेका हुन् ।

उनिहरु सगरमाथा चढ्ने डोरी टाँग्दै चुचुरोमा पुगेको पर्यटन विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिइन् । मंगलवार बिहान पौने दश बजेतिर पाँच शेर्पाहरूको एउटा टोली भने डोरी टाँग्दै ८,५१६ मिटर अग्लो ल्होत्से हिमालमा पुगेको थियो । यो याममा सो हिमालमा भएको यो पहिलो आरोहण हो । सगरमाथा र ल्होत्से हिमाल जाने बाटो तेस्रो शिविरभन्दा केहीमाथिबाट छुटिन्छ । गत वर्ष पनि वैशाख ३१ गतेदेखि नै सगरमाथा आरोहण शुरु भएको थियो । पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले आरोहण शुरु भएको जानकारी दिए ।

सखुवासभाका सिद्धिबहादुर तामाङ नेतृत्वको शेर्पा समूहले डोरी टाँग्ने काम ९रोप फिक्सिङ० गरेको थियो । उक्त समूहमा सोलुखुम्बुका पासदावा शेर्पा, सोलुखुम्बुका दोजी ग्याल्जेन शेर्पा र दावा नोर्बु शेर्पा तथा सखुवासभाका क्रमशः मिङ दोर्जी शेर्पा, आङ फुर्वा शेर्पा र साङ्बु भोटे लामा छन् । उनीहरु ‘हिमालयन गाइड्स नेपाल, ट्रेक एन्ड एक्सिपिडिसन प्रालि र मेडिसन माउण्टेनरिङ एभरेष्ट एक्सिपिडिसन–२०१९’ बाट गएको सगरमाथाको आधार शिविरमा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । सगरमाथा आरोहणका लागि डोरी टाँग्ने काम एक्सिपिडिसन अपरेटर्स एशोसिएशनले गर्दै आएको छ ।

यो आरोहणसँगै वर्षमा केही दिन मात्र अनुकूल हुने सगरमाथाको मौसम खुलेको अधिकारीहरूले बताएका छन् । वर्षका अन्य दिन प्रतिघण्टा २०० किलोमिटरसम्म हुने चुचुरोको वायुको गति प्रतिघण्टा २०÷३० किलोमिटरमा झर्ने सानो समय पहिल्याएर आरोहीहरू चुचुरोमा पुग्न खोज्छन् । अघिपछिभन्दा हिउँ कम परेको बेलामा आरोहण गर्ने गरिन्छ । सगरमाथा आधार शिविरबाट चुचुरोसम्मको यात्रा सामान्यतः पाँच दिनको हुने हुनाले आरोहीहरूले एक हप्तापहिला नै शिखर पुग्ने दिन तय गरेर अगाडि बढिरहेको अधिकारी एवम् पर्वतारोहण कम्पनीहरूले बताएका छन् ।

लामो समयदेखि मौसमको समीक्षा गरेर तथा विभिन्न देशका मौसम पूर्वानुमान गर्ने निकायहरूको विवरण तुलना गरेर शेर्पा तथा अन्तर्राष्ट्रिय पथप्रदर्शकहरू शिखरतिर जाने उपयुक्त समयको गणना गर्छन् । कहिलेकाहीँ अनुकूल दिनहरू थोरै हुने भएकाले आरोहीहरू सकेसम्म अघिल्ला दिनमै चुचुरोमा पुग्ने उद्देश्य राख्छन् ।

तेस्रो शिविरभन्दा माथिको केही र चौथो शिविरभन्दा माथिको भागमा साँघुरो बाटो भएकाले त्यहाँ एकतर्फी आउजाउ मात्र सम्भव हुने आरोहीहरू बताउँछन् । धेरै जोखिमपूर्ण मानिने तथा ‘डेथ जोन’ भनिने आठ हजार मिटर माथिको क्षेत्रमा कुनै शिविर छैन । त्यहाँभन्दा माथि लागेपछि सगरमाथा आरोहणको अन्तिम चरण सुरु भएको मानिन्छ । सगरमाथाको शिविर २ सम्मको बाटो बनाउने जिम्मा सगरमाथा प्रदूषण नियन्त्रण समिति एसपिसिसी पाएको थियो ।

विभागका अनुसार सगरमाथा आरोहणका लागि ४१ आरोही समूहका ३७८ आरोहीले अनुमति लिईरहेका छन् । यसमा ३५ विदेशी र छ नेपाली आरोही समूह छन् । विभागका अनुसार सगरमाथासहितका हिमाल आरोहणका लागि यस याममा कूल १०६ आरोही समूहका ८४२ आरोहीले आरोहण अनुमति लिएका छन् । सगरमाथासहितका २८ हिमाल आरोहणका लागि नेपालसहित ४८ मुलुकका आरोही हिमाल आरोहणमा निक्लिएका छन् । यस याममा हिमाल आरोहणबाट करीब रु ५० करोड सलामी दस्तुर जम्मा भएको छ । यसमा सबैभन्दा धेरै रु ४३ करोड ८९ लाख २७ हजार सगरमाथाबाट मात्र छ । यो समाचार सौर्य दैनिकमा छापिएको छ ।