
काठमाडौं , काठमाडौं महानगरपालिकाले बेरोजगार नागरिकलाई वडा कार्यालयमा गएर बेरोजगारिताको विवरण बुझाउन आग्रह गरेको छ । सोमबार राष्ट्रिय सभा गृहमा आयोजना गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रम र महानगरको आ व २०७६ ।०७७ को बजेट बिषयक अन्तरक्रियात्मक गोष्ठीमा यस्तो आग्रह गरिएको हो ।
कार्यक्रममा महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले रोजगार कार्यक्रमको उद्देश्यबारे स्पष्ट पार्दै बेरोजगारलाई १०० दिनसम्मको रोजगारी दिने जानकारी दिनु भयो । उहाँले बेरोजगारको सूचीमा परेकाहरुले काम नपाएमा उनीहरुलाई निर्वाह भत्ता वापत्को भत्ता उपलब्ध गराइने जानकारी दिनु भयो ।
त्यस्तै कार्यक्रममा बोल्दै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले नेपालमा कामको सम्मान गर्ने संस्कृतिको विकास गर्नलाई पहिलो आवश्यकता रहेको बताउनु भएको थियो ।
कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव डा लोकराज भुषालले नेपालका बर्षेनी ५ लाख युवा श्रम बजारमा आउने गरेको जानकारी गराउँदै तीमध्ये १ लाख नेपाली श्रम बजारमा खपत हुने र बाँकी बिदेशिने गरेको अवस्था औँल्याउनु भयो ।
कार्यक्रममा सामाजिक विकास विभागका प्रमुख सनतकुमार थापाले महानगरभित्र बेरोजगार भएमा बैशाख मसान्तभित्र वडा कार्यालयमा गएर सूचीकृत गर्न आग्रह गर्नु भयो । त्यस्तै रोजगार सेवा केन्द्रका संयोजक भरत ओलीले रोजगार कार्यक्रममा सूचीकृत भएसँगै सरकारी, गैरसरकारी तथा निजी क्षेत्रको काममा बेरोजगार रहेकाहरुलाई जोडिने बताउनु भयो ।
