
काठमाडौं , नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले प्रत्येक वर्ष आयोजना गर्दै आएको नियमित सिर्जना वाचन कार्यक्रम ‘अभिव्यक्ति’ को १२औँ शृंखलामा कवि तथा गीतकार जानु काम्बाङ लिम्बूलाई प्रस्तुत गर्ने भएको छ । प्रतिष्ठानकी अध्यक्ष दीपा लिम्बू राईको अध्यक्षतामा हालै बसेको बैठकले सो निर्णय गरेको हो । शृंखला आगामी सेप्टेम्बर १४ का दिन बेलायतको हाइवेकम, मिडल्यान्डमा आयोजना गरिने प्रतिष्ठानले एक प्रेस विज्ञप्ति जारी गरी जानकारी गराएको छ । उक्त शृंखला बेलायतका स्रष्टामाझ निकै महत्वपूर्ण र लोकप्रिय मानिन्छ ।
ताप्लेजुङ स्थायी घर भएकी कवि तथा गीतकार लिम्बू बेलायतमा साधनारत् सक्रिय स्रष्टा हुन । गीत, कविता, कथा, नियात्रा, मुक्तक र गजल विधामा सशक्तरूपमा कलम चलाउँदै आएकी उनका ‘शिविरमा ईश्वर’ कविताकृति, ‘अनुभव’ र ‘जानु’ गीति एल्बम र ‘नउघ्रेको जून’ कथा संग्रह प्रकाशित छन् । उनका गीत, नियात्रा र उपन्यास कृति प्रकाशोन्मुख छन् । बाल्यकालदेखि नै साहित्यमा रूचि राख्ने जानुका दर्जनौँ सिर्जनाहरू बेलायत तथा नेपाल आदि देशबाट निस्किने विभिन्न पत्रपत्रिकामा प्रकाशित हुँदै आएका छन् । उनका दर्जनौँ गीत चर्चित छन् । थुप्रै सामाजिक संघसंस्थामा आबद्ध उनी बेलायतमा पत्रकारितासमेत गर्छिन् ।
