समायोजनमा गएका कर्मचारीहरुको गुनासो वैशाखभित्र सम्बोधन हुन्छः मन्त्री पण्डित

२० बैशाख २०७६, शुक्रबार १५:३१

काठमाण्डौ , संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले समायोजनमा गएका कर्मचारीहरुको सबै गुनासो वैशाखभित्र सम्बोधन गर्ने तयारी गरिरहेको बताउनु भएको छ ।
पण्डितले सकेसम्म समायोजनमा गएका सबै कर्मचारीहरुको गुनासो यही वैशाख महिनाभित्र सम्बोधन गर्ने तयारीका साथ काम भैरहेको बताउनु भएको हो ।

शुक्रबार काठमाण्डौमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले महिला र बिरामी परेका कर्मचारीहरुको गुनासो सुनुवाइको कामलाई पहिलो प्राथमिकतामा राखिएको पनि स्पष्ट पार्नुभयो । सरकारले प्रदेश फरक परेका, श्रीमान वा श्रीमती फरक–फरक ठाउँमा भएकाहरुलाई पायक पर्ने ठाउँमा समायोजनमा खटाउनेसहितको कानुनी व्यवस्था गरेको छ । त्यहीकानुन व्यवस्था अनुसार, कर्मचारीहरुको गुनासो सम्बोधनको काम भैरहेको मन्त्री पण्डितको भनाइ छ ।

मन्त्री पण्डितले समायोजनमा गएका प्रशासनतर्फका कर्मचारीहरुको गुनासो सम्बोधन गर्ने काम सकिएको र अहिले स्वास्थ्य क्षेत्रका कर्मचारीहरुको गुनासो सम्बोधनको काम भैरहेको पनि जानकारी दिनुभयो ।