
काठमाडौं , नागरिक अगुवा कृष्ण पहाडीले मुलुकको राजनीतिक परिवर्तनका विरोधीहरु पदमा पुगेकाले मात्रै गणतन्त्र सुरक्षित रहेको टिप्पणी गर्नु भएको छ । नेपाली कांग्रेसका नेता नरहरि आचार्यद्वारा लिखित ‘गाण्तन्त्रको यात्रा’ नामक पुस्तकको विमोचन समारोहमा पहाडीले प्रधानमन्त्री केपी ओलीलाई ईंगित गर्दै यस्तो टिप्पणी गर्नु भएको हो ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष ओली अहिले मुलुकको प्रधानमन्त्री नभएको भए गणतन्त्र धरापमा परिसकेको अवस्था रहने उहाँको भनाइ थियो ।
गणतन्त्रको आन्दोलनमा नागरिक समाजका तर्फबाट आन्दोलनमा होमिएका पहाडीले गणतन्त्रकै सर्वोच्च निकाय राष्ट्रपतिप्रति पनि आक्रोश व्यक्त गर्नु भयो । गणतन्त्रमा कानुनभन्दा माथि कोही नहुने जिकिर गर्दै उहाँले गणतन्त्रमा पीडक पनि कोही नहुने तर्क गर्नु भयो ।
पुस्तक विमोचन समारोहमा नागरिक अगुवा प्राध्यापक कृष्ण खनाल र डा देवेन्द्रराज पाण्डेयले पनि लोकतान्त्रिक गणतन्त्रका लागि गर्नुपरेको संघर्षको स्मरण गर्नु भएको थियो ।
