
काठमाडौं , नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले श्रमिकको हक सुनिश्चित गरेर समाजवादको आधार तयार पार्न सरकारले जोड गरिरहेको बताउनु भएको छ । अध्यक्ष प्रचण्डले १३० औं विश्व मजदुर दिवसको अवसरमा बुधबार एक शुभकामना सन्देश जारी गर्दै यस्तो कुरा बताउनु भएको हो ।
उहाँले ‘श्रमको सम्मान र श्रमिक वर्गको हक, अधिकार र सुरक्षाको प्रत्याभूति गर्न वर्तमान कम्युनिस्ट सरकारले विभिन्न योजनाहरु मार्फत समाजवादको आधार तयार पार्न जोड गरिरहेको उल्लेख गर्नु भएको छ ।
देशको समृद्धिसँगै कम्युनिस्ट आन्दोलनलाई नयाँ संश्लेषणसहित समाजवादको आधार तयार पार्नु अहिलेको आवश्यकता भएको प्रचण्डको भनाई छ ।
संवैधानिक र कानुनी पूर्वाधार तयार गर्दै विकास र समृद्धिलाई पार्टी तथा सरकारले प्राथमिकतामा राखेको प्रचण्डले सन्देशमा उल्लेख गर्नु भएको छ । सन् १८८६ मे १ मा अमेरिकाको शिकागोमा आठ घण्टे कार्य्दिनको आन्दोलनको स्मरण गर्दै हरेक वर्ष विश्वभरका श्रमिकहरुले दिवस मनाउने गरेका छन् ।
