भोजराज शास्त्रीको निधन

१९ बैशाख २०७६, बिहीबार ०९:५९

अर्घाखाँची , भोजराज शास्त्री मरासिनी को ८८ वर्षको उमेरमा निधन भएको छ । शिक्षा क्षेत्रमा ४० वर्ष योगदान दिने क्रममा स्वतन्त्र सेनानी आन्दोलनमा होमिएका शास्त्रीको सोमबार राति बुटबलमा उपचारका क्रममा निधन भएको हो ।

२०१७ सालदेखि २०२० सालसम्म नेपाली काँग्रेसमा सक्रिय रहेको कारण देखाउँदै तत्कालीन पञ्चायती शासकबाट उनी यातनासहित २१ महिना जेल बसेका थिए ।

भारतको बनारसबाट शास्त्री अध्ययन गरेका स्वर्गीय भोजराज शास्त्री संस्कृतका प्रकाण्ड विद्धान पनि मानिन्छन् ।

विसं १९८८ असार २८ गते अर्घाखाँचीको ढिकुरामा जन्मिएका शास्त्रीले अर्घाखाँचीको ढिकुरा, वाङ्ला, धनचौर र कपिलवस्तुको पिपरास्थित जनता माविमा प्रधानाध्यापकको रुपमा भूमिका खेलेका थिए ।

शास्त्रीको मंगलबार देवघाटमा अन्त्येष्टि गरिएको छ । शास्त्रीका श्रीमती, तीन छोरा र दुई छोरी छन् ।