न्यूनतम तलब नदिए डिमाण्ड रोक्न माग

१ जेष्ठ २०७६, बुधबार १०:२१

काठमाडौं , साउदी अरबमा तोकिएको सेवा सुविधा तथा तलव नपाउने समस्या बढेपछि साउदी अरबस्थित नेपाली सामाजिक संस्थाहरुले नेपाली दूतावाससमक्ष न्यूनतम तलब नदिने कम्पनीको मागपत्र प्रमाणीकरण नगर्न आग्रह गरेका छन् ।

गैरआवसीय नेपाली संघ साउदी अरब, प्रवासी नेपाली एकता मञ्च तथा नेपाली जनसम्पर्क समितिले संयुक्त प्रेस बिज्ञप्ति जारी गर्दै दूतवासले नेपाली कामदारले न्यूनतम तलब पाए नपाएको वारेमा प्रभावकारी अनुगमन गर्न पनि माग गरेका हुन् ।

नेपालले रोजगारीका लागि साउदी जाने नेपाली अदक्ष कामदारको न्यूनतम तलब एक हजार र खाना सुविधा ३ सय गरी कम्तीमा एक हजार ३ सय रियाल मंगलवारको विनिमय दर अनुसार ३९ हजार १ सय ३० तोकेको छ ।

तर साउदी जाने सबै नेपालीले उक्त तलव नपाएको भन्दै नेपाली संघसंस्थाहरुले न्यूनतम तलबलाई कार्यान्वयन गराउनको लागि सबै नागरिकको कर्तब्य र दायित्व भएको भन्दै त्यसलाई गम्भिर रुपमा लिएको बताएका छन् ।

उनीहरुले साउदी अरबमा कामदार पठाउँदा नेपाल सरकारले तोकेको सेवा शुल्क दश हजार भन्दा बढी नलिनपनि म्यानपावर कम्पनीहरुसँग आग्रह गरेका छन् ।

त्यस्तै उनीहरुले माग प्रमाणीकरण गराउन दुतावास आउने ब्यक्तिको परिचय स्पष्ट गरेरमात्र प्रमाणिकरण गर्नुपर्ने भन्दै परिचय नखुलेको अवस्थामा सम्बन्धित रोजगारदाता कम्पनीको सिफारिस पत्रमा निजको परिचय खुल्ने गरी इकामा सहितको पत्र समाबेश भएको हुनुपर्ने माग गरेका छन् ।

यता भारत हुँदै तेस्रो देश जानेलाई अबदेखि नेपाली दूतावासको सिफारिस पत्र ९नो अब्जेक्सन लेटर अनिवार्य गरिएको छ । भारतीय अध्यागमनबाट लिनुपर्ने इमिग्रेसन क्लियरेन्सका लागि भारतस्थित नेपाली दूतावासको सिफारिस पत्र अनिवार्य चाहिने भारतस्थित नेपाली दूतावासले जनाएको छ ।

वैदेशिक रोजगारीमा जाने कामदारको हकमा भने दूतावासबाट सिफारिस पत्र लिनका लागि वैदेशिक रोजगार विभाग वा अन्तर्गतबाट जारी गरिएको श्रम स्वीकृति अनिवार्य गरिएको छ ।नो अब्जेक्सन लेटरका लागि आवेदन दिन सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुन नसकेमा इमेलमार्फत पनि निवेदन दिन सकिने दूतावासले जनाएको छ । यो समाचार मध्यान्ह दैनिकमा छापिएको छ ।