एकल साँझमा गुञ्जिए टुहुरे

१५ बैशाख २०७६, आईतवार ०९:४०

काठमाडौं । जनवादी गायक जेबि टुहुरेको एकल साँझ सम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा १५ वर्षपछि एकल सांगीतिक कार्यक्रमका साथ प्रस्तुत भएका ७५ वर्षीय टुहुरेले १४ वटा गीत गाए । जे।बि। टुहुरे फाउन्डेसनको आयोजनामा भएको उक्त कार्यक्रमको सुरुमा उनले ‘आमा तिम्रो माया कञ्चन पानी जस्तो’ बोलको गीत गाए । उनले बीच बीचमा आफ्नो गायन यात्राका बारेमा समेत चर्चा गरे ।

नेपाल कम्युनिस्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुभकामना मन्तव्य दिँदै नेपाली जनताका गायक रुपमा टुहुरे चिनिएको बताए । उनले गरिब दुःखीका गीत गाउँदै नेपालको कम्युनिस्ट आन्दोलनलाई गतिशील बनाउन टुहुरेले महत्वपूर्ण भूमिका खेलेको बताउँदै भने, ‘जनतामा आशाको सञ्चार भर्न र क्रान्तिप्रति गोलबन्द गर्न गायक टुहुरेले महत्वपूर्ण भूमिका खेल्नुभएको छ ।’

उनलाई समूह गायनमा गायिका मधु गुरुङ, भूमिका सुब्बा, पवित्रा घर्ती, पेम्बा लामा, गंगा राई, लक्ष्मी गुरुङ, केशरी घर्ती, प्रगति महरा, प्रगति हिङमाङ, कुस्मिता दर्लामी, आकाश थापा, रुपक चौधरी, केशर कालिकोटे, कर्ण परियार, धनु ग्याङ्मी र बिहानी बिकले साथ दिएका थिए । त्यसैगरी, वाद्यवादनमा भरत बुढाथोकी तवला, सुधीर चौधरी ढोलक, पोषण घर्ती मादल, रुपेश सिङ ड्रम प्याड, चन्दु गोर्खाली गिटार, आकाश गोर्खाली गिटार, दिवस श्रेष्ठ गिटार, देव राई गिटार, राहुल भुजेल किबोर्ड, नारायण जर्घा हार्मोनियम, रत्न वि।क। बाँसुरी, भरत नेपाली सारंगी, मनोहर सुनाम भायोलिन, मोहन कृष्ण कार्की ढली भायोलिन, केशव सुनाम भायोलिन, किशोर कार्की ढली भायोलिन, रविन कार्की ढली भायोलिन मा रहेर उनलाई सांगीतिक प्रस्तुतिमा साथ दिएका थिए ।

अभिनेत्री दिया मास्केले नृत्य पनि आकर्षणको रुपमा रहेको थियो । उक्त सांगीतिक कार्यक्रममा नेकपाका नेता नारायणकाजी श्रेष्ठ, मणि थापा लगायतका पुगेका थिए । कार्यक्रममा नारायणकाजीले टुहुरेले प्रस्तुति दिइरहेका बेला उठेर ताली बजाएर साथ दिएका थिए भने प्रचण्डले नाचेर साथ दिए । कार्यक्रममा जनवादी गीत संगीतका माध्यमबाट आजीवन सामाजिक जागरण र रुपान्तरणमा उल्लेखनीय योगदान गर्ने टुहुरेको भूमिकालाई स्थापित र संस्थागत गर्न जे।बि। टुहुरे फाउण्डेसनको विधिवत घोषणा समेत गरियो ।

घोषणा गरिएअनुसार फाउण्डेसनको कार्यसमितीमा निर्भिका टुहुरे अध्यक्ष रहनेछिन् । त्यस्तै, उक्त सांगीतिक कार्यक्रममा प्रस्तोता समाज, संगीतकार संघ र संगीतकार सुनिल मास्केले टुहुरेको सांगीतिक कार्यक्रमको लागि भन्दै क्रमशः नगद १० हजार सहयोग प्रदान गरेका थिए । समारोहमा टुहुरेलाई सांस्कृतिक संस्थानका पदाधिकारीसँगै साथै अन्य विभिन्न समूहले सम्मान सममेत गरे । सांस्कृतिक संस्थानका पूर्वअध्यक्ष रहिसकेका टुहुरे संविधानसभा सदस्य समेत भएका थिए । उनको पूरा नाम जुठबहादुर खड्गी हो । यसअघि ०२७ सालमा कीर्तिपुरमा र ०६० सालमा प्रतिष्ठानमै उनको एकल सांगीतिक कार्यक्रम भएको थियो । टुहुरेले ‘धामी गीत’ गाएर आफ्नो सांगीतिक प्रस्तुति सम्पन्न गरेका थिए ।