विष्णु पौडेलका छोराले किनेको जग्गा वैधानिक छः मन्त्री आर्याल

१४ बैशाख २०७६, शनिबार १४:४३

काठमाडौं, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले ललिता निवासको जग्गाका सबै कित्ताहरु किटान गरेर रोक्का गरिसकिएको बताएकी छिन्।

शनिबार रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा मन्त्री अर्यालले भनिन्,‘हिजोमात्रै हामीले ललिता निवासभित्र पर्ने जग्गाको ९८ प्रतिशत कित्ताहरु किटान गरेका छौं। सबै कित्ताहरु रोक्का गरेका छौं। ७ दिनको समयसिमा राखेर हामीले कित्ता काट गर्ने काम सम्पन्न गरेका हौं।’

मन्त्री आर्यालले नेकपामा महासचिव विष्णु पौडेलका छोराको नाममा रहेको जग्गा पनि रोक्का भएको बताइन्। मन्त्री अर्यालले उक्त विवादित जग्गाहरुको बारेमा सत्यतथ्य बाहिर ल्याउन छानविनका लागि शक्तिशाली आयोग बनाइने बताइन्। सार्वजनिक र गुठीका अतिक्रमण भएका सरकारी जग्गाहरु सबै फिर्ता गर्ने पनि उनले स्पष्ट पारिन्।

मन्त्री अर्यालले सरकारी जग्गा फिर्ता ल्याउने गरी काम छिट्टै सुरु हुने र मन्त्रिपरिषद् बैठकको निर्देशनबमोजिम शक्तिशाली आयोग गठनको तयारीमा आफूहरु जुटिसकेको बताइन्। नेकपाकै महासचिव विष्णु पौडेलको समेत नाम मुछिएको ललिता निवासको जग्गा खरिद प्रकरणमा टिप्पणी गर्दै उनले भनिन्,‘विष्णु पौडेलका छोरा नविन पौडेलसित जोडिएको जग्गाको विषयमा हामीले अध्ययन गर्यौं। उहाँले जुन जग्गा किन्नुभएको छ, त्यो मोही किटान भएर मोही साविक भएको, मोही कायम भएको जग्गा व्यक्तिमा हस्तान्तरण हुँदै छैटौं व्यक्तिको रुपमा उहाँको छोराको नाममा हस्तान्तरण भएको छ।’

सरकारले अधिकरण गरेर जफत गरेको जग्गा शतप्रतिशत गलत रहेको उनले बताइन्। उनले भनिन्,‘यस्तो जग्गाको सवालमा हेर्ने भन्ने कुरै आउँदैन। सिधै खारेजीमा जान्छ।’ बालुवाटारको जग्गाको सवालमा साढे चार सय कित्ता किटान भइसकेको र सम्पूर्ण कागजात जुटाउने काम भएको र हाललाई रोक्का गरिएको मन्त्री अर्यालको भनाइ छ।