फेसबुकमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो बिगारेर पोष्ट गर्ने २ जना पक्राउ

१८ चैत्र २०७५, सोमबार १७:५२

काठमाडौं , सामाजिक सञ्जाल फेसबुकमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीर बिगारेर पोष्ट गर्ने दुईजना पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको टोलीले पाल्ला गाउँपालिका ७ का २२ वर्षीय निर्मल गैरे र रुपन्देहीको साविकको शंकरनगर गाविसका २३ वर्षीय यमप्रसाद पन्थीलाई पक्राउ गरेको हो । भक्तपुरको नयाँ ठिमीबाट निर्मल र चितवनबाट यमप्रसाद पक्राउ परेका हुन् ।पक्राउ परेका दुबैजनालाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको सीआईबीले जानकारी दिएको छ । यो ऐनको दफा ४७ अनुसार ५ वर्षसम्म कैद र एक लाखसम्म जरिवाना सजाय हुने व्यवस्था रहेको छ ।