राज्यबाट प्रदान गरिने सेवा सुविधा जनताले पाउनु पर्छः परराष्ट्रमन्त्री ज्ञवाली

८ बैशाख २०७६, आईतवार ११:४६

काठमाडौँ, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारको ‘समृद्ध नेपाल र सुखी नेपाली’ को नारा कार्यान्वयन एवं सङ्घीयता कार्यान्वयन सफल पार्ने अभियानमा परिणाम देखिने गरी सहयोग पुर्याउन निजामती कर्मचारीलाई आह्वान गर्नुभएको छ ।

नेपाल निजामती कर्मचारी सङ्गठनको २९ औँ स्थापना दिवसका अवसरमा शनिबार यहाँ आयोजित सङ्घीय निजामती सेवा ऐन तथा कर्मचारी समायोजनमा देखिएका समस्या र समाधानका उपाय विषयको कार्यक्रममा उहाँले संसद्मा विचराधिन विधेयकमार्फत कर्मचारीका वृत्ति विकाससम्बन्धी गुनासा सम्बोधन हुने विश्वास दिलाउनुभयो ।

राज्यबाट प्रदान गरिने सेवा सुविधा जनताले पाउन सकेनन् भने कर्मचारीलाई प्रोत्साहन गर्नुको के औचित्य रहन्छ भन्दै उहाँले निजामती प्रशासनलाई जनताको सेवक हो भन्ने प्रष्ट पार्न सङ्गठनका पदाधिकारीलाई सुझाव दिनुभयो । प्रशासनिक नेतृत्वमा मात्र होइन, कयौँ राजनीतिक नेतृत्वमा समेत केन्द्रकृत मानसिकता रही आएको बताउँदै मन्त्री ज्ञावलीले सङ्घीयता नचाहने सङ्घ र प्रदेशबीच दूरी बढाउन गौँडा ढुकेर बसेको उल्लेख गर्नुभयो ।