हार्टअट्याक भएका यात्रुलाई बिच बाटोमा अलपत्र पारेर भाग्ने ट्याक्सी चालक पक्राउ

१५ चैत्र २०७५, शुक्रबार १६:००


अस्पताल नलग्दा यात्रुको बाटोमै मृत्यु

काठमाडौं , हार्टअट्याक भएका बिरामी यात्रुलाई हस्पिटल लैजानुको साटो बिच बाटोमा अलपत्र पारेर भाग्ने ट्याक्सी चालक पक्राउ परेका छन् ।फागुन १३ गते बुधबार चावहिल चोकस्थित हेल्पिङ्ग ह्याण्ड्स अस्पताल अगाडीको खाली भागमा बा १ ख ३८५१ नम्बरको ट्याक्सि चालक कमल बहादुर श्रेष्ठलाई महानगरीय प्रहरी वृत गौशलाले पक्राउ गरेको हो ।
गोकर्णेश्वर नगरपालिका –४ स्थायी घर भएका ६० वर्षीय गोपालका रञ्जित बुधवार मेडिकेयरमा उपचार गरेर ट्याक्सीमा घर फर्कंदै थिए । छोरा प्रविणका रञ्जित आफ्ना बाबुलाई ट्याक्सी चढाएर मोटरसाइकलमा घर फर्किएका थिए ।तर, ट्याक्सी चढेको केही मिनेटमा नै गोपालका रञ्जित छटपटाउन थालेपछि आफुले आत्तिएर ट्याक्सीबाट निकालेर भागेको चालक कमल बहादुर श्रेष्ठले प्रहरीसँगको बयानमा बताएका छन् । गोपालका रञ्जितले उपचार गराएको हस्पिटल मेडिकेयर र हेल्पिङ हेण्डस्को दुरी करिव ३ सय मिटर रहेको छ ।प्रहरीले निकै मेहनतपछी सिसिक्यामेरा फुटेजको सहायताले शंकास्पद ट्याक्सी चालक श्रेष्ठलाई पक्राउ गरेको हो ।