लगानीकर्ताको लगानी सुरक्षित गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री ओली

१५ चैत्र २०७५, शुक्रबार १०:४८

लगानी सम्मेलन

काठमाडौँ , प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार लगानीकर्ताहरुको लगानी सुरक्षित गर्न र नाफा सुनिश्चित गर्न प्रतिबद्ध रहेको
बताउनु भएको छ । उहाँले लगानीकर्ताहरुलाई नेपालमा ढुक्कसँग लगानी गर्न आह्वान गर्नु भयो ।
आज शुक्रवार राजधानीमा लगानी सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताउनु भएको हो । उहाँले नेपाल विदेशी लगानीकर्ताहरुका लागि दोस्रो घर र व्यवसायको हब बन्ने दाबी समेत गर्नु भयो ।

प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा कल्पना नभएर पूरा गर्न सकिने दृष्टिकोण भएको बताउँदै यसका लागि सबैको साथ आवश्यक रहेको बताउनु भयो । उहाँले अब नेपालमा हिंसाको लागि कुनै स्थान नभएको बताउँदै कानुनी व्यवस्थामा खलल पुर्याउनेहरुलाई कानुन बमोजिम कारवाही गरिने बताउनु भयो ।

उहाँले आर्थिक बृद्धिको लागि राजनीतिक स्थायित्व मुख्य आवश्यकता रहेको बताउँदै अहिले देशमा राजनीतिक स्थिरताको साथै नीतिगत रुपमा एकरुपमा रहेको पनि जिकिर गर्नु भयो ।

‘हाम्रो तत्कालीन लक्ष्य भनेको कम विकसित मुलुकको तहभन्दा माथि उठ्ने, मध्यकालिन लक्ष्य भनेको मध्य–आय भएको मुलुकको स्थितिमा पुग्ने र सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्ने हो,’ प्रधानमन्त्रीले भन्नु भयो ।

प्रधानमन्त्री ओलीले नेपाल आर्थिक नीति र वैदेशिक लगानी स्वागत गर्न लचिलो मुलुक भएको बताउँदै केही क्षेत्रबाहेक सबै क्षेत्रमा लगानी शतप्रतिशत खुला रहेको जिकिर गर्नु भयो । उहाँले नेपालको जनसंख्याको ५७ प्रतिशत जनता काम गर्न सक्ने उमेर समूहमा रहेको उल्लेख गर्दै नेपालको कामदारको लागत सस्तो भएको बताउनु भयो ।त्यस्तै, नेपालले संघीय प्रणाली अंगिकार गरेको बताउँदै उहाँले सबै प्रदेशले समान लगानीको अवसर प्राप्त गर्नुपर्नेमा जोड पनि दिनु भयो । उहाँले यसका लागि हरेक प्रदेशमा कम्तिमा एउटा औद्योगिक क्षेत्र खोलिने बताउनु भयो ।