
काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न लगानी सम्मेलन सफल बनाउनुपर्ने बताउनु भएको छ । बुधबार राति नेपाल टेलिभिजनको जनतासँग प्रधानमन्त्री कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले लगानीकर्तालाई आफ्नो मुनाफा लैजान समेत उपयुक्त वातावरण हुने र नेपाललाई समेत फाइदा हुनेगरी दुवै पक्षलाई विन विनको अवस्था सिर्जना हुने बताउनु भयो । कम्युनिष्ट पार्टीको नाम जोडिएको सरकार भएकोले अहिले लगानी आउने कुरामा विपक्षीले प्रश्न उठाएको सन्दर्भमा बोल्दै प्रधानमन्त्रीले आलोचना गर्नेहरुको समयको अवस्था पनि आफूहरुले देखिसकेको बताउनु भयो । उहाँले अहिलेकै सरकारको पालामा विकासको बहस भइरहेको जनाउँदै आफ्नो यसअघिको कार्यकालमा पनि यति चर्चा नभएको बताउनु भयो । उहाँले अहिलेको लगानी सम्मेलनमा ६ वटा मुख्य विषयमा लगानीको लागि सरकारले आग्रह गरेको बताउँदै ती ६ वटा मुख्य विषय अन्तर्गत नै सबैजसो अन्य विषय पर्ने बताउनु भयो ।
उहाँले स्वदेशी र विदेशी लगानीकर्ता कसैलाई पनि विभेद नहुने चर्चा गर्नु भयो । उहाँले विदेशी सामान ल्याएर नेपालमा दलाली गर्ने काम अहिले भइरहेको जनाउँदै अब विदेशी पूँजी, ज्ञान र बुद्धिलाई यहाँ ल्याएर यही उत्पादन बढाउने पक्षमा सरकार रहेको बताउनु भयो । उहाँले आसन्न लगानी सम्मेलन सफल पार्नका लागि सबैले सहयोग गर्नुपर्ने चर्चा गर्दै आगामी दिनमा लगानी सम्मेलनको साटो व्यापार सम्मेलन गर्ने अवस्था सिर्जना गर्नुपर्ने बताउनु भयो ।
