

काठमाडौं , राष्ट्रिय मानवअधिकार आयोगले विप्लव समूहद्वारा बन्द हड्तालसहित विभिन्न विरोधका कार्यक्रम सार्वजनिक गरेकोमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । आयोगले नेपाल बन्दका कारण यस वर्ष सञ्चालन भइरहेको विद्यालयका बालबालिकाहरुको एसईई परीक्षामा असर पर्ने देखिएको जनाएको छ । चैत्र १६ गते शनिबारको दिन एसईई अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा विषयको परीक्षा हुने कार्यक्रम रहेको जनाउँदै आयोगले यसका अतिरिक्त बन्दजस्तो कष्टकर र सामान्य जनजीवन नै ठप्प हुने किसिमको विरोधको कार्यक्रमले आमनागरिकको स्वतन्त्रतापूर्वक हिंडडुल गर्न पाउने अधिकार, स्वास्थ्यको अधिकार, शिक्षा, पेशा व्यवसाय तथा रोजगारीको अधिकार र न्यायमा पहुँच लगायतका विभिन्न अधिकारको उपभोगमा असर पर्ने देखिएको जनाइएको छ । चन्दा, विष्फोट, हत्या, हिंसायुक्त कार्य नगर्न, कतै पनि भययुक्त वातावरण सृजना नगर्न, राजनीतिक विचार, आस्था र आशंकाको भरमा यथेष्ट प्रमाणबिना कुनै पनि नागरिकलाई धरपकड नगर्न, आयोगले नेकपा र सरकारलाई आग्रह गरेको छ ।आयोगले वार्ता र संवादबाटै समस्याको समाधान खोज्न सबै पक्षलाई आग्रह गरेको छ । साथै आगामी चैत्र १६ गतेको लागि आह्वान गरिएको नेपाल बन्द फिर्ता लिई मानवअधिकारको सम्मान हुने वातावरण सृजना गर्न समेत आयोगले नेकपालाई आग्रह गरेको छ ।