अनुत्तीर्ण अस्थायी शिक्षकलाई उपदानसहित बिदाइ गर्ने तयारी

१३ चैत्र २०७५, बुधबार १५:२९

काठमाडौं , स्थायी शिक्षकका लागि लिइएको लिखित परीक्षामा करिब १० हजार अस्थायी शिक्षक अनुत्तीर्ण भएका छन् । उनीहरूलाई उपदानसहित बिदाइ गर्ने तयारी सरकारले गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ती शिक्षकलाई उपदान दिन पा“च अर्ब २५ करोड रुपैया“ छुट्टाएको छ ।

केन्द्रका महानिर्देशक बाबुराम पौडेलले ती शिक्षकहरू तत्कालै कक्षाकोठाबाट बाहिरिदा समस्या पर्ने भएकाले आगामी असार मसान्तसम्म काममा लगाउन सकिने गरी व्यवस्था गर्न शिक्षा मन्त्रालयसँग आग्रह गरिएको बताए ।सरकारले केही समयअघि गठन गरेको कार्यदलले देशभरिका सामुदायिक विद्यालयमा ४७ हजार १ सय २ शिक्षक अपुग भएको तथ्याङ्कसहितको प्रतिवेदन मन्त्रिपरिषद्मा बुझाएको थियो ।

शिक्षा नियमावलीले कायम गरेको शिक्षक अनुपातअनुसार अझै ३४ हजार ४ सय ८ शिक्षक अपुग छन् । मन्त्रिपरिषद्ले निर्णय गरेपछि शिक्षक पदस्थापन र दरबन्दी मिलान प्रक्रिया अगाडि बढ्नेछ ।यसैबीच सामुदायिक विद्यालयको सुधारका लागि सार्वजनिक शिक्षा रूपान्तरण अभियान नामक राष्ट्रिय सम्मेलनको आयोजना गरिने भएको छ ।

कमजोर विद्यालयका समस्या र राम्रो गरेका विद्यालयको अनुभव सुन्न चैतको अन्तिम सातामा सम्मेलनको आयोजना गर्न लागिएको छ ।केन्द्रका उपमहानिर्देशक चुडामणि पौडेलले आगामी वैशाख १ गतेबाट सुरु हुने विद्यार्थी अभियानअन्तर्गत भर्ना कम भएका १५ जिल्ला र १३६ पालिकामा सघन कार्यक्रम सञ्चालन गरिने बताए ।