
काठमाडौं, सरोकारवाला निकायसँग पर्याप्त छलफल गरेर मात्रै कानुन निर्माण गर्न प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले सरकारको ध्यानाकर्षण गराउनु भएको छ । सूचनाको हकसम्बन्धि कानुन परिमार्जन गर्न पनि सभामुख महराले सरकारसँग आग्रह गर्नु भयो । उहाँले सूचनाको हकसँग सम्बन्धित कानुन परिमार्जनका लागि आफूले संघीय संसदमा सक्दो पहल गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो । बुधबार काठमाडौंमा आयोजित ‘सूचनाको हकको राष्ट्रिय सम्मेलन’लाई सम्बोधन गर्दै उहाँले सूचनाको हकको प्रभावकारी कार्यान्वयन गर्न सरकार र सम्बन्धित निकायलाई सचेत गराउनु भयो । कार्यक्रममा सूचनाको हकलाई प्रभावकारी ढंगले कार्यान्वयनमा लैजान सरकारका सबै निकायलाई पटक–पटक सचेत गराइएको राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले जानकारी दिनु भयो । उहाँले सूचना आयोगले सूचनाको हक सबै नागरिकले पाउनुपर्ने मान्यताका आधारमा सबै मन्त्रालय, विभाग, आयोगलगायतका संवैधानिक निकायमा समेत सूचना अधिकारी तोक्ने व्यवस्था गरिएको स्पष्ट पार्नु भयो ।
