पक्राउ परेका हेमन्तसँग २२ वटा सिमकार्ड

११ चैत्र २०७५, सोमबार ०९:१०

काठमाडौं , सरकारले प्रतिबन्ध लगाएर पक्राउ गर्न थालेपछि नेत्रबिक्रम चन्द ‘विप्लव’का नेताहरूले धेरैवटा सिमकार्ड प्रयोग गर्न थालेका छन् । उनीहरूले पुराना सिमकार्ड फाल्ने र नयाँ–नयाँ सिमकार्ड प्रयोग गर्दै आएको अनुसन्धानमा खुलेको छ । शुक्रबार पक्राउ परेका सो पार्टीका नेता हेमन्तप्रकाश ओली र उनका सहयोगीसँग २२ वटा सिमकार्ड भेटिएको छ ।

विगतमा प्रयोग गरेका सिमकार्ड उनीहरूले फालिसकेको प्रहरीले जनाएको छ । बरामदमध्ये कतिपय सिमकार्ड प्रयोग नगरिएका समेत छन् । ओलीले आफू पक्राउ पर्ने डरले कार्यकर्ताकै सिमकार्ड धेरै प्रयोग गर्ने र पुराना सिमकार्ड प्रयोग गर्ने गरेको समेत खुलेको छ ।

उनीहरूले अन्य व्यक्तिको नाममा सिमकार्ड लिएका छन् । ती व्यक्तिमाथि पनि कारबाही गरिने प्रहरीले जनाएको छ । ‘पसलमा रिचार्ज किने जसरी सिमकार्ड किन्न पाइने अवस्था छ,’ एक प्रहरी अधिकारी भन्छन्, ‘जसले अपराध गर्नेहरूलाई सहज भएको छ ।’ पक्राउ परेपछि नेता ओलीले पार्टीकै निर्णयअनुसार ललितपुरमा भएको विस्फोटको आफूले जिम्मेवारी लिएको बताएका छन् ।

उनीहरूसँग बम बनाउन प्रयोग हुने विस्फोटक पदार्थदेखि अत्याधुनिक हतियार रहेको प्रहरीले जनाएको छ । त्यसमध्ये केही प्रहरीले बरामद गरिसकेको छ । शुक्रबार पक्राउ परेका नेता ओलीसँग ९ एमएमको गोलीसहितको पेस्तोल र विस्फोटक पदार्थ बरामद भएको प्रहरीले जनाएको छ । उनीहरूको गाडीबाट ती हतियार बरामद भएका हुन् ।

पक्राउ परेका नेता ओलीसहितका कार्यकर्ताविरुद्ध चार मुद्दामा अनुसन्धान सुरु भएको छ । राज्यविरुद्धको अपराध, हातहतियार तथा खरखजना, विस्फोटक पदार्थ र संगठित अपराध मुद्दामा कारबाही अघि बढाइएको हो । राज्यविरुद्धको अपराध मुद्दामा २५ वर्षसम्म कैद सजाय हुने कानुनी प्रावधान छ । यो समाचार आजको नयाँ पत्रिकामा छापिएको छ ।