
काठमाडौं, नेपाली काँग्रेसका युवा नेता गगन थापाले महामन्त्री शशांक कोइरालाले पार्टीभित्र खुला छलफल नगर्ने तर सार्वजनिक कार्यक्रममा विभिन्न विषयमा जनमत संग्रहमा जान सकिने कुरा जिम्मेवार नेताहरुले गरिरहे पार्टी ठूलो भडखालोमा जाकिने बताउनु भएको छ । नेता थापाले पार्टीका महामन्त्री शशांक कोइरालाले ‘संघीयता र गणतन्त्रको विषयमा जनमत संग्रहमा जान सकिने’ अभिव्यक्ति दिएकोमा आपत्ति जनाउनु भयो । शुक्रबार गिरिजाप्रसाद कोइराला फाउन्डेशनले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले गिरिजाप्रसाद कोइरालाले लिनुभएको सहमति, सहकार्य र एकताको सुत्रलाई आत्मसात गरेर पार्टीलाई एकतावद्ध बनाउनुपर्ने बताउनु भयो । कार्यक्रममा बोल्दै अर्का काँग्रेस नेता शेखर कोइरालाले सरकारले संघीयता समाप्त पार्ने काम गरिरहेको आरोप लगाउनु भयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओली सर्वसत्तावादतर्फ उन्मुख रहेको उल्लेख गर्दै सचेत रहन पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गर्नु भयो । काँग्रेस नेता कोइरालाले सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको भन्दै आक्रोश पनि व्यक्त गरे । उहाँले नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि गिरिजाप्रसाद कोइरालाले खेल्नु भएको असाधारण भूमिकाको पनि चर्चा गर्नु भएको थियो ।
