तत्काल मन्त्रिपरिषद् पुनर्गठन हुँदैनः प्रधानमन्त्री ओली

३ चैत्र २०७५, आईतवार १३:३७

विराटनगर , प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल मन्त्रीपरिषद् पुनगर्ठन नहुने बताउनु भएको छ । विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनु भएको हो । ‘एउटा मन्त्रालय खाली छ, अपूर्णलाई पूर्ण गर्ने हो,’ उहाँले सञ्चारकर्मीहरुसँग भन्नु भयो, ‘तत्काल पुनर्गठन हुँदैन ।’

गत साता मात्रै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विराटनगर नै पुगेर मन्त्रिपरिषद पुनर्गठन हुनसक्ने बताउनु भएको थियो । ‘यो अधिकार प्रधानमन्त्रीको हो, उहाँले चाहे मन्त्रिपरिषद पुनर्गठन हुन्छ ।’

यस्तै प्रधानमन्त्री ओलीले विप्लव समूह कुनै कार्यालयमा दर्ता नभएको अनाधिकृत संस्था भएको पनि बताउनु भयो । नेत्रविक्रम चन्द नेतृत्वको पार्टी अनधिकृत झुण्ड भएको ओलीको आरोप छ । प्रधानमन्त्रीले विप्लव समूह राजनीतिक दल नभएको र सो समूहले गरेका विध्वंसात्मक गतिविधिमात्रै गरेकाले प्रतिबन्ध लगाइएको स्पष्ट पार्नु भयो ।