

नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले प्रचण्ड र विप्लवलाई नयाँ विचार अंगीकार गर्न सुझाव दिनु भएको छ । दुवैमा देखिएको वैचारिक समस्याले पछिल्लो परिणाम आएको जिकिर गर्दै उहाँले ‘कोर्स करेक्सन’को सुझाव दिनु भएको हो । तत्कालीन माओवादीले सञ्चालन गरेको जनयुद्धका वैचारिक तथा सांगठनिक खम्बामध्येका एक बाबुरामले आफ्ना दुवै पूर्वकमरेड गलत बाटोमा हिँडेको टिप्पणी गर्नु भएको छ । दुवै नेतालाई नजिकबाट चिनेका बाबुरामको विचारमा दुवैमा देखिएको समस्या व्यक्तिको नभएर विचारको हो । प्रचण्डले बोकेको संसदीय कम्युनिज्म र विप्लवको उग्रपन्थी कम्युनिज्मका कारण दुईबीच दन्तबझान चलेको बाबुरामको ठहर छ ।दुवैलाई इतिहासले गलत सावित गरिसकेको दाबी पनि बाबुरामले गर्नु भएको छ । ‘इतिहासले दुवैलाई गलत सावित गरिसकेको छ’, बाबुरामले ट्विटरमा लेख्नु भएको छ । ।