बन्दका कारण सुदूरपश्चिमको जनजीवन प्रभावित

३० फाल्गुन २०७५, बिहीबार ११:४८

धनगढी , विप्लवले आह्वान गरेको नेपाल बन्दले सुदूरपश्चिम प्रदेशको जनजीवन प्रभावित बनेको छ । विप्लव समूहले बिहीबार नेपाल बन्द आह्वान गर्दा सुदूरपश्चिमको जनजीवन प्रभावित बनेको हो । आज बिहानै देखि सुदूरपश्चिम प्रदेशमा यातायातका साधन, कल कारखाना, पसल,शैक्षिक संस्था पूर्णरुपमा बन्द भएका छन् । बन्दका कारण भारतबाट मजदुरी गरी होली मनाउन घर फर्केका यात्रुहरु पनि अलपत्र परेका छन् । टीकापुर, लम्की, अत्तरिया, महेन्द्रनगर तथा पहाडी क्षेत्रहरुमा पनि बन्दको असर परेको छ । कैलालीको बडैपुरमा विवाहको गाडीमा पनि बन्द आह्वानकर्ताले आगजनी गरेका छन् । प्रहरीले सुरक्षामा गाडी सञ्चालन गरिरहेकोमा विवाहको गाडीलाई केही नहुने भन्दै छोडिएकोमा विप्लव समूहले आगजनी गरेको हो ।त्यसैगरी पूर्वपश्चिम राजमार्ग अन्तरगत कैलालीको घोडाघोडी नगरपालिका २ मा पनि विप्लव कार्यकर्ताले ट्रकमाथि तोडफोड गरेको छ । त्यसैगरी बन्दका कारण सुदूरपश्चिम प्रदेशमा सञ्चालन भैरहेको प्रथम मुख्यमन्त्री कप अन्तरप्रदेश खेलकुद प्रतियोगिता पनि प्रभावित भएको छ ।