मन्त्री अधिकारीसहित सातैजनाको सम्झनामा विमानस्थल सरसफाइ

२७ फाल्गुन २०७५, सोमबार १३:१०

काठमाडौँ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा आज सररफाइ तथा जनचेतनामूलक कार्यक्रम गरिएको छ । विमानस्थलले गत फागुन १५ गते भएको हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको १३औँ पुण्यतिथिको अवसरमा सरसफाइ गरेको हो ।विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले विमानस्थल परिसरमा मन्त्री अधिकारीलगायतको सम्झनामा रुद्राक्षको बिरुवा रोप्नुभएको थियो । सोही अवसरमा विमानस्थल गेट बाहिरका बस्तीका घरमा पुगेर देशको मुहार विमानस्थल र पवित्र धार्मिकस्थल पशुपति क्षेत्रको सरसफाइ गरौ भन्ने सन्देशसहित माइकिङ गरिएको महाप्रबन्धक क्षेत्रीले बताउनुभयो ।
मन्त्री अधिकारीसहित दिवङ्गत सातैजनाको सम्झनामा सरसफाइ, वृक्षरोपण तथा सचेतना कार्यक्रम गरिएको विमानस्थलले जनाएको छ । विमानस्थल भित्र र बाहिर सफाइ गरिएको थियो । ताप्लेजुङको पाथिभरा पुगेर फर्कने क्रममा हेलिकोप्टर दुर्घटना परी मन्त्री अधिकारीसहित सातको मृत्यु भएको थियो ।