महिला आर्थिक रुपमा स्वतन्त्र र सशक्त नभएसम्म ‘समृद्ध नेपाल, सुखी नेपाली’ सम्भव छैनः उपराष्ट्रपति

२४ फाल्गुन २०७५, शुक्रबार १२:०३

काठमाडौँ, उपराष्ट्रपति नन्दबहादुर पुनले महिला अधिकारको कार्यान्वयन गर्दै महिलाको सर्वाङ्गीण विकासका लागि सबै क्षेत्रको ध्यान जानुपर्ने बताउनुभएको छ ।
१०९ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले महिला राजनीतिक, सामाजिक तथा आर्थिक रुपमा स्वतन्त्र र सशक्त नभएसम्म ‘समृद्ध नेपाल, सुखी नेपाली’ सम्भव नभएको बताउनुभयो ।
संविधानले प्रत्येक महिलालाई लैङ्गिक भेदभावबिना समान वंशीय हक, राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक र सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पत्तिको समान हकलगायत अधिकार सुनिश्चित गरेको उहाँको भनाइ छ ।
उपराष्ट्रपतिले आजको दिनले सम्पूर्ण नेपाली महिलामा आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि गर्दै समृद्ध नेपाल निर्माणको राष्ट्रका कार्यभार पूरा गर्न उत्साह, जोस, जाँगर तथा शक्ति थपियोस् भनी कामना गर्नुभएको छ ।