नेपाली समाजमा कुरीति चुनौतीका रुपमा देखिएः प्रधानमन्त्री

२४ फाल्गुन २०७५, शुक्रबार १०:५९

काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई शुभकामना व्यक्त गर्नु भएको छ । उहाँले महिलाहरुको आर्थिक तथा सामाजिक सशक्तिकरणमार्फत् सारभूत समानतासहितको समतामूलक समाजको निर्माण गरी समृद्धिको यात्रामा अघि बढ्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि गर्नु भएको छ ।
अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले समानताको सोचलाई प्रवर्द्धन गर्दै महिलाको राजनीतिक, आर्थिक सामाजिक तथा साँस्कृतिक अधिकार सुनिश्चित गर्न आफ्नो जीवन अर्पण गर्ने व्यक्तित्वहरूको स्मरण गर्नु भएको छ । प्रधानमन्त्रीले शासकीय पद्धतिमा भएको परिवर्तनसँगै संघीय संरचनामा महिलाहरुको प्रतिनिधित्वमा राजनीतिक, आर्थिक एवम् सामाजिक क्षेत्रमा उल्लेख्य रुपमा वृद्धि भएकोमा खुसी व्यक्त गर्नु भएको छ ।
प्रधानमन्त्रीले भन्नु भएको छ, “मातृ मृत्यु दरमा सुधार, महिलाको कूल साक्षरता दरमा बृद्धि तथा उनीहरुको आर्थिक सशक्तिकरण भइरहेको तथ्याङ्कहरूले देखाएका छन् । पैतृक सम्पत्तिमा समान हक, सामाजिक सुरक्षा र सामाजिक न्यायका लागि भएका नीतिगत र कानूनी व्यवस्थाका कारण सुधारका लक्षणहरू देखिन थालेका छन् । राज्यका विभिन्न अंगहरूमा महिलाहरुको सहभागिता बढ्दै गएको छ ।”
महिला र पुरुषबीच सारभूत समानता कायम गर्न नीतिगत, संस्थागत तथा कार्यक्रमगत प्रयास हँुदाहँुदै पनि समाजमा कुनै न कुनै परिमाणमा पितृसतात्मक सोच कायमै रहनु र महिलालाई विकासका सबै चरणहरुमा सारभूत सहभागिता गराउन नसक्नु हामीले परास्त गर्नै पर्ने चुनौतिहरु रहेको प्रधानमन्त्रीले बताउनु भयो ।