

काठमाडौं , कपिलवस्तुमा प्रहरीले चलाएको गोलीबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका एक कार्यकर्ता घाइते भएका छन् । कपिलवस्तुको शिवराज नगरपालिका–९ सुन्दरजाडामा प्रहरीले छापा मार्न खोज्दा भाग्ने क्रममा प्रहरीले गोली प्रहार गरेको हो । गोली लागेर नेकपाका कार्यकर्ता दुर्गाबहादुर रोका घाइते भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले रोकाको सुन्दरजाडास्थित घरमा छापा मार्न खोज्दा भागेपछि गोली प्रहार गरेको र उनको खुट्टामा गोली लागेको जानकारी प्राप्त भएको छ । घाइते भएका रोकाको बुटबल अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।प्रहरीका अनुसार रोकाको घरबाट अत्याधुनिक २ थान एसएमजी, त्यसको म्यागजिन ३ थान र चाईनिज पेस्तोल १ थान बरामद भएको छ ।