ग्यास आयात पर्याप्त, गलत हल्लाको पछाडि नलाग्न नेपाल आयल निगमको आग्रह

२१ फाल्गुन २०७५, मंगलवार १२:५७

काठमाडौं , मागअनुसार खाना पकाउने ग्यासको आयात भइरहेकाले अनावश्यक भण्डारण नगर्न तथा गलत हल्लाको पछाडि नलाग्न नेपाल आयल निगमले उपभोक्तालाई आग्रह गरेको छ ।
पछिल्ला दिनमा ग्यासको कमिसन बढाउनुपर्ने माग राख्दै नेपाल ग्यास बिक्रेता संघलगायतले विरोधका कार्यक्रम सार्वजनिक गरेको तथा निगम र व्यवसायीबीचको वार्तासमेत तार्किक निष्कर्षमा पुग्न नसकेको वेला निगमका तर्फबाट उक्त धारणा सार्वजनिक भएको हो ।निगमले उपभोक्तालाई सहजरूपमा पेट्रोलियम पदार्थ उपलब्ध गराउन प्रयास गरिरहेको भन्दै गलत हल्ला र अफवाहको पछाडि नलाग्नसमेत आग्रह गरेको छ । उपभोक्ताको मागबमोजिम ग्यास आपूर्तिमा कुनै पनि समस्या नभएकाले अनावश्यकरूपमा ग्यासको सिलिन्डर भण्डारण नगर्नसमेत निगमले अनुरोध गरेको छ ।निगमले उद्योगी–व्यवसायीको माग सम्बोधन गर्न आफूहरू प्रयासरत रहेको भन्दै अत्यावश्यक विषयको संवेदनशीलतालाई ख्याल गर्न उद्योगी–व्यवसायीको समेत ध्यानाकर्षण गराएको छ । दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषयका सम्बन्धमा देखिएको समस्या समाधानका लागि वार्ता र संवाद नै उपयुक्त विकल्प भएकामा निगमको जोड छ ।