पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको शनिबार राति ९ बजेर ३५ मिनेटमा ह्याम्स अस्पतालमा निधन

१९ फाल्गुन २०७५, आईतवार ११:४५

काठमाडौं , पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ ।नेकपाका नेता अधिकारीको ८२ वर्षको उमेरमा शनिबार राति ९ बजेर ३५ मिनेटमा ह्याम्स अस्पतालमा निधन भएको हो । लामो समयदेखि बिरामी अस्वस्थ अधिकारीलाई गत पुस २३ गतेदेखि ललितपुरको मेडिसिटी र त्यसपछि ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो ।अधिकारीको निधन भएको खबर पाएसँगै अस्पताल परिसरमा आफन्त र शुभेच्छुकको भिड लागेको थियो ।अधिकारीे विसं १९९३ साल वैशाख २२ गते महोत्तरीको भ्रमरपुरामा बुवा रामचन्द्र र आमा पूर्णकुमारीको कोखबाट जन्मिनु भएको थियो ।उहाँका श्रीमती ओमकुमारी र तीन छोरी छन्।कानुन र अर्थराजनीतिका विज्ञ अधिकारीले अर्थशास्त्रमा एमए र कानुनमा बीएलसम्मको औपचारिक अध्ययन गर्नु भएको थियो । नेपालको राजनीतिमा त्यागी नेताको रुपमा चिनिने अधिकारीले चार वर्ष भूमिगत, तीन वर्ष निर्वासन र तीन वर्ष बन्दी जीवन बिताउनु भएको थियो । विसं २०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्रले ‘कु’ गर्दा उहाँ ८१ दिन नजरबन्दमा पर्नु भएको थियो ।