सरकारले हतारमा ‘विप्लव’ समूहमाथि प्रतिवन्ध लगायोः सत्तारुढ दलका नेता देवेन्द्र पौडेल

२९ फाल्गुन २०७५, बुधबार १५:०७

काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ माथि हतारमा प्रतिबन्ध लगाएको टिप्पणी गर्नु भएको छ । बुधबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उहाँले ‘हिजोको क्याविनेटको निर्णय जुन भएको छ, यसबारेमा पार्टीमा छलफल हुन बाँकी रहेको बताउनु भयो । उहाँले आफू पार्टीको जिम्मेवार व्यक्ति भएको हुँदा आफना कुराहरु पार्टीको बैठकमा राख्ने बताउनु भयो । उहाँले यी समस्याहरु शान्तिपूर्ण तवरले नै हल गर्नुपर्छ भन्दै कुनैपनि पक्षलाई निषेध गर्ने र कहीँ न कहीँ जबरजस्त गर्ने, त्यसलाई कहीँ न कहीँ बाध्यात्मक कदम चाल्ने अवस्था सिर्जना गर्ने काम राज्य पक्षले गर्न नहुने बताउनु भयो । उहाँले अहिलेको सिजन र अवस्था भनेको शान्तिपूर्ण तवरले खुल्ला प्रतिष्पर्धामा आउनको निम्ति संविधाप्रदत्त अधिकारलाई अधिकतम प्रयोग गर्नुपर्ने भएको बताउनु भयो । उहाँले ,‘सरकारले अधिकतमभन्दा अधिकतम लचिलो भएर सबै पक्षलाई वार्तामा ल्याउनु पर्ने बताउनु भयो । नेता पौडेलले विप्लवले पनि प्राप्त भएका उपलब्धिहरुको रक्षा गर्दै शान्तिपूर्ण तवरले आफूलाई प्रस्तुत गर्नुपर्ने धारणा राख्नु भयो । अझैपनि प्रतिबन्ध लगायो भन्दैमा सरकारले वार्ताको ढोका बन्द नगरेको उहाँले जिकिर गर्नु भयो । कार्यक्रममा राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले संविधान संशोधनलगायतका आफूहरुको मुख्य मागहरु अहिलेसम्म सम्बोधन नभएको भन्दै कडा आक्रोश पोख्नु भयो । उहाँले ,‘अब कडा आन्दोलन कहिले गर्ने भन्ने सवाल जो छ, यो कुरा समयमा प्रकट हुने बताउनु भयो । उहाँले टिकापुर घट्नामा चौधरी संलग्न नभएको जिकिर गर्नु भयो ।