राजधानीमै २० करोडको पुल बनेको ९ महिनासम्म गाडी चल्न सकेनन्

४ चैत्र २०७५, सोमबार ०९:५२

काठमाडौं, चिनियाँ कम्पनी जेआइइसी र पप्पु कन्स्ट्रक्सनले संयुक्त रूपमा बनाएको टेकु–कालिमाटी जोड्ने पुल निर्माण सकिएको नौ महिनासम्म सञ्चालनमा आएको छैन । २० करोडको सम्झौतामा ठेकेदारले १३ करोड लगिसके, पुलमा रंगरोगन पनि गरिसके, तर भार थाम्दैन भन्दै सरकारले बन्द राखेको छ ।

६० मिटर लामो पुलको बीचको ३० मिटर खण्ड अड्याउन १५० एमएम रेडियसको १५ वटा लट्ठा दुवैतर्फ तान्नुपर्ने ठेक्का सम्झौता भए पनि मापदण्डविपरीत ५ एमएम कम रेडियस भएको लट्ठा हालेको भेटिएको छ । यस्तै, लट्ठा कस्न मेसिनसमेत प्रयोग नगरेको, बरु प्राविधिकको आँखा छल्न लट्ठा छिराएको प्वालमा सिमेन्टको घोल हालेर पुरिदिएको सडक विभागले जनाएको छ ।

तर, सडक डिभिजन कार्यालय काठमाडौंका कार्यालय प्रमुख कैलाशकुमार श्रेष्ठ कालिमाटी पुलबारे कुनै जानकारी नभएको बताउँछन् । ‘कालिमाटी–टेकु जोड्ने पुलको सम्बन्धमा के भइरहेको छ मलाई जानकारी छैन । पहिले त्यो पुल काठमाडौं दिगो सहरी यातायात आयोजनाले हेथ्र्योे । पछि त्यो खारेज भएपछि मेरैमातहत आएको छ । विवाद छ भन्ने सुनेको छु । डिटेल फाइल पनि मेरो कार्यलयमा आएको पनि सुनेको हुँ । तर, मैले बुझ्न भ्याएको छैन । विवाद मिल्दै होला,’ उनले भने ।

९ असार ०७१ मा २० करोड २३ लाखमा ठेक्का सम्झौता भएको यो पुल सम्झौताअनुसार २० असार ०७३ मा सकिएन । पटक–पटकको ताकेतापछि गत असारमा काम सकिएको थियो । ठेकेदार कम्पनीले १३ करोड ९२ लाख लगिसकेको छ ।

सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख कैलाशकुमार श्रेष्ठ भन्छन्–भार नथाम्ने पुलमा गाडी चल्न दिन मिलेन
टेकु–कालिमाटी पुल निर्माण काठमाडौं दिगो सहरी यातायात आयोजनाले ठेक्का सम्झौता गरेको हो । पछि आयोजना खारेज भयो । कार्यालयको स्वामित्व डिभिजन कार्यालय काठमाडौंमातहत आयो । पुल निर्माण गर्दा सुरुवातदेखि नै विवाद रहेछ । पुल निर्माण भयो । पछि कन्सल्टेन्टले मापदण्डविपरीत ठेकेदार कम्पनीले पुल बनाएको रिपोर्ट पेस गरे । रिपोर्ट हेर्दा पुलले यातायात साधनको भार नै धान्न नसक्ने स्थिति देखियो । यो जान्दाजान्दै यातायात साधन चल्न दिने कुरा भएन । त्यसैले यातायातका साधनलाई रोक लगाइएको हो । यही सम्बन्धमा अहिले ‘डिस्प्युट बोर्ड’ गठन भएको छ । बोर्डको निर्णयअनुसार अघि बढ्छौँ ।

तिनकुनेबाट बानेश्वर जोड्ने पुल पनि पप्पुकै

पुलको भित्री संरचना पूरा, तर जगमै समस्या भएको भेटिएपछि निर्माण अवरुद्ध
गुणस्तरहीन निर्माणका कारण पटक–पटक विवादित पप्पु कन्स्ट्रक्सनले बनाइरहेको काठमाडौंको तिनकुनेबाट बानेश्वर जोड्ने आर्कब्रिजको पनि जगमै त्रुटि भेटिएको छ । सडक विभागले गरेको अनुगमनमा पुलको जग आवश्यक गहिराइसम्म नपुर्‍याई सतहबाटै उठाइएको देखिएपछि निर्माण रोकिएको छ ।

विभागले थप निर्माण रोकेर पुलको विस्तृत अध्ययन गर्न पुल्चोक इन्जिनियरिङ कलेजलाई जिम्मा दिएको छ । ‘अनुगमन गर्दा जगका लागि आवश्यक खाल्डो नखनिएको भेटियो । पुलको जगमै समस्या भेटिएपछि निर्माणकार्य रोक्न लगाएर थप अध्ययनका लागि पुल्चोक इन्जिनियरिङ कलेजलाई जिम्मा दिइएको छ,’ सडक विभागका महानिर्देशक रवीन्द्रनाथ श्रेष्ठले भने, ‘प्रतिवेदन आएपछि के गर्ने टुंगो लाग्छ ।’

सडक विभागले ‘डिजाइन एन्ड बिल्ड’अन्तर्गत ठेकेदार कम्पनीलाई पुलको नक्सा र निर्माण दुवैको जिम्मा दिएको छ । कामको निरीक्षण गर्ने जिम्मा भने विभागअन्तर्गतकै काठमाडौं उपत्यका सडक विस्तार आयोजनाको हो । तर, आयोजनाले पुल निर्माणमा प्रभावकारी निगरानी गर्न नसकेको देखिन्छ । माथिल्लो निकायमा जानकारी गराएको पनि छैन । तर, आयोजनाका प्रवक्ता विश्वविजयलाल श्रेष्ठ भने गल्ती औँल्याएर रोक्दारोक्दै पनि ठेकेदार कम्पनीले जबर्जस्ती काम अघि बढाएको बताउँछन् ।

‘पुलको जगमा केही समस्या देखियो । हामीले निर्माणकार्य रोक्न ठेकेदार कम्पनीलाई भन्यौँ । तर, उसले मानेन । जबर्जस्ती डण्डी बाँध्ने काम पनि गर्‍यो,’ प्रवक्ता श्रेष्ठले भने, ‘अध्ययन भइरहेको छ । त्रुटि भेटिए बाँधिएका रड झिकेर फालिदिन्छौँ । यसमा सरकारको सुको पनि खर्च हुँदैन ।’

सम्झौता न गुणस्तरमा कायम भयो न त समयसीमामा
शान्तिनगर–तिनकुने आर्कब्रिज निर्माणमा पप्पु कन्स्ट्रक्सनले न गुणस्तर कायम गरेको छ न त समयसीमा नै । ४ पुस ०७१ मा २१ करोड ३३ लाखमा ठेक्का सम्झौता गरेको पप्पुले ५ असार ०७५ मा निर्माण सम्पन्न गर्नुपर्ने थियो । तर, पप्पुले पुलको नक्सा बनाउनै ४२ महिना लगायो । त्यसपछि बल्लतल्ल काम सुरु गरे पनि कहिले बागमतीमा बाढी आएको त कहिले बिजुलीको पोलले अवरोध गरेको भन्दै महिनौँ काम रोक्यो । फेरि खानेपानी र ढलका पाइपले अवरोध गरेको बहाना बनायो । त्रुटिपूर्ण काम पनि अहिलेसम्म ३० प्रतिशत मात्रै सकिएको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाको प्रगति विवरणले देखाउँछ ।

अहिले सञ्चालनमा रहेको पुलको दायाँबायाँ दुवैतर्फ आर्कब्रिज निर्माणको योजना हो । तर, दक्षिणतर्फको पुलका लागि जग खन्नेबाहेक थप काम भएको छैन । उत्तरतर्फको भने पिलर उठाएर ढलानका लागि फर्मा ठोकिसकेको छ, डन्डी पनि कसिएको छ । तर, जगमै त्रुटि देखिएपछि अहिलेसम्म खर्च भएको ६ करोड २२ लाख लगानी के हुन्छ अन्योल देखिएको छ । यो समाचार आजको नयाँ पत्रिकामा छापिएको छ ।