गणतन्त्र र सङ्घीयता जनआन्दोलनको उपलब्धि भएकाले यसको संरक्षण गर्नु सबैको साझा दायित्व होः शशाङ्क कोइराला

७ चैत्र २०७५, बिहीबार १४:१३

चितवन, नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहलाई सरकारले प्रतिबन्ध लगाउनु गलत भएको बताउनु भएको छ । उहाँले वार्ता र सम्वादमार्फत् समस्याको सामाधान खोज्नुपर्नेमा जोड दिनु भयो । कोइरालाले गणतन्त्र र सङ्घीयता जनआन्दोलनको उपलब्धि भएकाले यसको संरक्षण गर्नु सबैको साझा दायित्व भएको समेत बताउनु भयो । नेपाल प्रेस युनियन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा कोइरालाले उक्त कुरा बताउनु भएको हो । महामन्त्री कोइरालाले धार्मिक स्वतन्त्रताको पक्षमा जनमत सङ्ग्रह गर्न सकिने बताउँदै हिन्दू राज्यका विषयमा जनताले सरकारलाई दबाब दिन आवश्यक रहेको धारणा व्यक्त गर्नु भयो । नेपाली काङ्ग्रेसको अन्तिम बिन्दु धर्म स्वतन्त्रता नै रहेको उहाँले स्पष्ट पार्नु भयो । महामन्त्री कोइरालाले सरकारले जनताका पक्षमा काम गर्न नसकेको आरोप लगाउँदै अहिलेसम्म प्रभावकारी योजना ल्याउन नसक्नु र कुनै नीति पनि कार्यान्वयन गर्न नसक्नु सरकारको असफलता भएको बताउनु भयो ।