अख्तियारद्वारा १४ जनाविरुद्ध मुद्दा

११ चैत्र २०७५, सोमबार १०:४६

काठमाडौं , अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको साविक सीमा गाविसको सामुदायिक भवन निर्माणमा भ्रष्टाचार भएको अभियोगमा तत्कालीन गाविस सचिवसहित चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सामुदायिक भवन निर्माण गर्दा प्राविधिक लागत अनुमानअनुसार नगरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीन गाविस सचिव दीपकबहादुर सिंहले २ लाख ३३ हजार ४ सय ४८ बराबरको भ्रष्टाचार गरेको पाइएको आयोगले जनाएको छ ।

उक्त भवन निर्माण कार्य सम्झौता एवं लागत अनुमानबमोजिम सम्पन्न नभएको अवस्थामा नै मापदण्ड विपरीत गरिएको निर्माण कार्यलाई सही भनी प्रमाणित गरी झुठो बिल भर्पाइ बनाएको आरोप लागाइएको छ । आयोगले सहायक सबइन्जिनियर नरबहादुर नेपाली, सामाजिक परिचालक भीमबहादुर राना र भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष दिल्लीदेवी बाँठो सबैलाई २ लाख ३३ हजार ४ सय ४८ रुपैयाँ बराबरको भ्रष्टाचार गरेको अभियोग लगाएको छ ।

आरोपी सबैलाई बिगो असुल गरी हदैसम्मको कारबाहीको माग गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । यस्तै, आयोगले आजै भोजपुरको, षडानन्द नगरपालिका साविक वडा नं ५ र ६ मा विद्युत् विस्तार परियोजनामा भ्रष्टाचार भएको अभियोगमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आर्थिक वर्ष ०७३÷०७४ का लागि नगरपालिकाअन्तर्गतको विद्युत् विस्तार परियोजनाका पदाधिकारीले कार्य सम्पन्न भएको भनी किर्ते कागजात तयार पारी आर्थिक हिनामिना गरेको पाइएको आयोगले जनाएको छ । विद्युत् विस्तार योजनाको काम १७ प्रतिशत मात्र काम सम्पन्न भएको अवस्थामा कार्य सम्पन्न भएको भनी गलत प्रतिवेदन बनाएको पाइएको छ । सो आयोजनाको कुल लागत ५८ लाख ७० हजारमध्ये २९ लाख ७४ हजार, ४ सय ९१ मा मात्र सम्पन्न भएको थियो । तर, झुठो बिल बनाइ २८ लाख ९५ हजार ५ सय ८ भुक्तानी गरेको र सरकारी स्रोतको दुरुपयोग गरेको आयोगको ठहर छ ।

आयोगले सो अभियोगमा षडानन्द नगरपालिकाका तत्कालीन निमित्त प्रशासकीय अधिकृत जयनारायण खनाल, तत्कालीन लेखा अधिकृत सन्तोष श्रेष्ठ, इन्जिनियर विमलमान राई, असिस्टेन्ट सबइन्जिनियर महेश कार्कीले समान २८ लाख ९५ हजार ५ स य ८ रुपैयाँ बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ ।

यस्तै, सोही नगरपालिकाका शिक्षा अधिकृत मणिराम तामाङ १८ लाख ६८ हजार, अनुगमन समितिका सदस्य किशोर किराँत, विद्युत् विस्तार उपभोक्ता समितिका अध्यक्ष पूर्वा तामाङ, सचिव राजेन्द्र राई, कोषाध्यक्ष ज्ञानुमाया तामाङ र संयोजक हेमकुमार श्रेष्ठले समान २८ लाख ९५ हजार ५ सय ८ रुपैयाँ बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ । उनीहरूलाई बिगोबमोजिम कैद सजाय र जरिवानाकोसमेत माग गरी विशेष अदालतमा आज मुद्दा दायर गरिएको छ । यो समाचार सौर्य दैनिकमा छापिएको छ ।