

काठमाडौं , काठमाडौं मल खाली गराउने कर्मचारी सञ्चय कोषको निर्णयविरुद्ध व्यवसायीले आन्दोलन गर्ने बताएका छन । ‘द काठमाडौं मल व्यापार संघ’ले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी विरोधका कार्यक्रम सार्वजनिक गरेको हो । संघकी अध्यक्ष सुष्मा महराले आज पत्रकार सम्मेलनमा बोल्दै मलमा १४ वर्षदेखि व्यवसाय गर्दै आएका व्यवसायीलाई कोषले एक्कासी हटाउन नपाउने बताउनु भयो । ठेकदारसँगको असन्तुष्टिले कोषले व्यवसायीलाई मर्कामा पार्न नहुने उहाँको भनाइ छ ।लाखौं लगानी गरेर व्यवसाय गरिरहेकाहरुलाई कोषले सडकमा ल्याउन खोजेको उहाँले बताउनु भयो । उहाँले मलको ठेक्का प्रक्रिया पारदर्शी नभएको दाबी गर्नु भयो । धेरै बोलकबोल गरेर ठेक्का पाउनेले आफ्नो लगानी उठाउन मनपरी भाडा वृद्धि गर्ने गरेको उहाँको आरोप छ ।
उहाँले व्यवसायीलाई जबर्जस्ती हटाउन खोजिए मलमा तालाबन्दी गर्ने चेतावनी समेत दिनु भयो । २० हजार भाडा रहेको युनिटको भाडा अहिले ८० हजारसम्म पुर्याइएको उहाँको भनाइ छ । उहाँका अनुसार मलमा झण्डै ३ सय पसल छन् । मलका झ्यालढोका फोडेर अगाडि , पछाडि, दायाँबायाँ ३७ वटा टहरामा पनि पसल सञ्चालनमा छन् ।
माघ १३ गते एक महिने सूचना जारी भएकोमा ५ फागुनमा पुनः सूचना जारी गर्दै सञ्चय कोषले आफ्नो स्वामित्वमा रहेको काठमाडौं मल खाली गर्न व्यवसायीलाई २१ दिने अल्टिमेटम दिएको थियो । व्यवसायीहरुलाई ढुक्कसँग आफ्नो व्यवसाय गर्ने वातावरण बनाउनुको सट्टा अस्थिरता सिर्जना गरेर कर्मचारी संचयकोषले समेत त्रासपूर्ण वातावरण बनाउने काम गरिरहेको अध्यक्ष महराको आरोप छ । काठमाडौं मल एउटा भवन मात्रै नभइ व्यवसायिक केन्द्र पनि भएकाले यसको आफ्नै प्रतिष्ठा भएको बताउँदै उक्त भवनमा व्यवसाय गरिरहेका ३ सय व्यवसायीहरुसँग यसको अस्तित्व जोडिने उहाँले बताउनु भयो । भ्रमपूर्ण कुराले ब्यापारीहरु आत्म हत्याको वाटो रोज्नु पर्ने अवस्था सृजना भईसकेको उहाँको भनाई छ । उहाँले कर्मचारी सञ्चय कोषले उक्त ब्यापारीक केन्द्रलाई ब्यवस्थित र २०६२ साल देखि ब्यवसाय गरिरहेका ब्यवसायीहरुको हितलाई मध्य नजर गरेर काम गरिदिन र फेरि पनि विचौलिया जन्माउने पैसाको चलखेल गर्ने मौका दिने जस्ता कार्य बन्द गर्न आग्रह गर्नु भएको छ । मल संचालनका लागि कोषको स्पष्ट नीति नहुँदा व्यवसायी सधैं समस्यामा पर्ने गरेको उहाँको गुनासो थियो । सरकारको भवनको लाभ मलका व्यवसायी र सरकारलाई नभइ विचौलियाले लिँदै आइरहेको पछिल्लो घटना क्रमले प्रस्ट पारेको उहाँको आरोप छ । त्यसै गरी द काठमाडौं मल व्यापार संघका सल्लाहाकार उज्वलजंग शाहाले मलको समस्या समाधान नभए सम्म भोकहड्ताल गर्ने चेतावनी दिनु भयो ।