
काठमाडौं, नेपाल सरकारका उपसचिव प्रेमप्रसाद सञ्जेलले आफूमाथि अन्यायपूर्ण व्यवहार गरी इतिहासमै नभएको ७० दिने सरुवा गरिएको भन्दै त्यसको विरुद्धमा सर्वोच्च अदालत जाने घोषणा गर्नु भएको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै सञ्जेलले यस्तो घोषणा गर्नु भएको हो । उहाँले भन्नु भयो, ‘मलाई यस्तोसम्म गरेपछि बाध्य भएर जनतालाई जानकारी दिलाउने उद्देश्य र सूचनाको हकसम्बन्धी ऐन–२०६४ ले भ्रष्टाचारको विरुद्धमा सोही कार्यालयको कर्मचारीले पर्दाफास गर्नैपर्ने कानुनी दायित्व पूरा गर्नको लागि पनि मैले आज यो पत्रकार सम्मेलन गरेको हुँ, आज वा भोलिभित्रै म सर्वोच्च अदालत जान्छु ।’
