कांग्रेस कोइरालाहरुले मात्र बनाएको पार्टी होइन,धेरैको रगतले सिञ्चित भएर कांग्रेस बनेको होः कोइराला

१३ फाल्गुन २०७५, सोमबार ११:२२

विराटनगर , नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपाली कांग्रेस कोइरालाहरुले मात्र नबनाएको बरु प्रजातन्त्रलाई माया गर्ने धेरैको रगतले सिञ्चित भएको बताउनु भएको छ । नेपाल प्रेस युनियन मोरङले सोमबार विराटनगरस्थित कोइराला निवासमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता कोइरालाले भन्नु भयो, ‘‘सभापति शेरबहादुर देउवालाई थाहा हुनुपर्ने हो, कांग्रेस कोइरालाहरुले मात्र बनाएको पार्टी होइन । यसमा धेरै साथीहरुले योगदान गर्नुभएको छ । धेरैको रगतले सिञ्चित भएर कांग्रेस बनेको हो ।’’
वीपी कोइरालाले लेखेको विधान टेकेर यहाँसम्म आएको कांग्रेसले गिरिजाप्रसाद कोइरालाले संसद् पुनस्र्थापना गराउँदा विश्वले वाहवाही गर्दासमेत पार्टीको विधान संशोधन गरिँदा राजनीतिक प्रस्तावनामा यसलाई नजरअन्दाज गरिएको बताउँदै उहाँले भन्नु भयो, ‘‘सभापतिज्यूले बिर्सनु भएको छ तर विश्वले सम्झिरहेको छ । यहाँ भने इतिहास मेटाउन खोजिएको छ ।’’ नेता कोइरालाले बहुमतले विधान पारित हुनु लोकतान्त्रिक विधि भएपनि आफू काठमाडौमा रहेको भए ‘नोट आफ डिसेन्ट’ लेख्ने बताउनु भयो । तलबाट निर्वाचित भएर आउने प्रावधान नराखेकोमा आफूलाई मान्य नहुने बताउँदै कोइरालाले संरक्षित कोटामा पनि एक पटक मात्र हुनुपर्ने र अर्को पटकदेखि प्रतिस्पर्धाको आधारमा नै आउनुपर्ने व्यवस्थाको पक्षमा आफू रहेको बताउनु भयो ।
महासमितिले दिएको ‘म्यान्डेट’ भन्दा अलग प्रस्ताव स्वीकार्य नहुने कोइरालाको जोड छ । १४ औं महाधिवेशनलाई समयमा हुन नदिन र समय थप गरेर अरु अढाई वर्ष लम्ब्याउने दाउमा सभापति देउवा लागेको तर पार्टी संगठनमा भएको जथाभावीको विषय लिएर आफू कार्यकर्तामाझ गईरहने बताउँदै कोइरालाले भन्नु भयो, ‘‘कांग्रेस कमजोर भएको छ । संगठन शून्य बराबर छ । हारको जिम्मा कसले लिने भन्दा मलाई अनुशासन र कारवाहीको कुरा गरे, भने मलाई केही भन्नु छैन ।’’
डा कोइरालाले सरकारका क्रियाकलापहरु जनविरोधी देखिएको टिप्पणी गर्नु भयो । भ्रष्टचार झन् बढेको, मिडियालाई नियन्त्रण गर्न खोजिएको, वाइडबडी प्रकरणलाई सरकारले नै कमजोर बनाएको र नेपाली सेनालाई बदनाम गर्न सरकार नै उद्धत रहेको टिप्पणी उहाँले गर्नु भयो ।