नागरिकको प्रत्यक्ष सरोकार हुने कार्यालयहरुमा अनुगमन गर्न अब सेवाग्राहीकै रुपमा टोली खटाउँछौः अख्तियार प्रमुख घिमिरे

१२ फाल्गुन २०७५, आईतवार १८:२८

काठमाडौं , अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले घुस विवादमा राजीनामा दिएका आयुक्त राजनारायण पाठकको विषयमा केही दिनभित्र सार्थक निश्कर्ष आउने बताउनु भएको छ । आइतबार राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिको बैठकमा आयुक्त घिमिरेले त्यस घटनामा तीन सदस्यीय समिति बनाएर अनुसन्धान गरिरहेको र केही दिनमा सार्थक निश्कर्ष निस्कने बताउनु भएको हो । प्रमुख आयुक्त घिमिरेले संस्थाको पनि आफ्नो जीवन हुने भन्दै त्यसमा आरोह अवरोह आइरहने बताउनु भयो । ‘प्रमुख आयुक्त घिमिरेले वाइडबडी विमान खरिदको विषयमा अहिले अनुसन्धान चलिरहेको पनि जानकारी दिनु भयो । अख्तियारले नागरिकको प्रत्यक्ष सरोकार हुने कार्यालयहरुमा अनुगमन गर्न सेवाग्राहीको रुपमा टोली खटाएको घिमिरेले बताउनु भयो । एक दिन बिराएर स्टिङ अपरेसन गर्दा पनि घुस लेनदेन नघटेकाले अब सेवाग्राहीकै रुपमा टोली खटाएको बताउनु भयो ।अख्तियारका कर्मचारीहरु अख्तियारकै घेरामा रहेको पनि उहाँले बताउनु भयो ।