नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा झडप, पार्टी कार्यालय प्रवेशमा कडाइ

१२ फाल्गुन २०७५, आईतवार १४:१८

काठमाडौँ , नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा विद्यार्थी नेताहरु प्रदर्शनमा उत्रिएपछि झडप भएको छ ।नेविसंघमा ३२ वर्षे हदबन्दीको पक्ष र विपक्षमा विद्यार्थीहरु प्रदर्शनमा उत्रिएपछि प्रहरीले लाठीचार्ज समेत गरेको छ । प्रहरीले लाठीचार्ज गरेपछि दुई पक्षबीच झडप भएको छ ।

निवर्तमान महामन्त्री कुन्दनराज काफ्ले निकट विद्यार्थी सुशील भट्ट नेतृत्वको टोलीले तदर्थ समित बनाउँदा ३२ वर्षे हदबन्दी लागु हुनु पर्ने माग गर्दै प्रदर्शन गरेका हुन् ।काफ्ले समूहले ३२ वर्ष मूनिको तदर्थ समिति गठनको माग गर्दै आज बिहानैबाट नाराबाजी गर्दै आएको छ ।
यता, संस्थापन पक्षबाट उमेर हदको विपक्षमा ऋषिकेशजंग शाह नेतृत्वको टोलीले प्रदर्शन गरेको छ । उनीहरुले नेताहरुमाथि दुर्वव्यवहार गरेको पार्टीभित्र अनुशासन कायम हुनुपर्ने भन्दै प्रदर्शन गरेका हुन् ।
गत बिहिबार उपसभापति विमलेन्द्र निधि र सहमहामन्त्री प्रकाशशरण महतमाथि काफ्ले समूहले दुव्र्यहार गरेको संस्थापन पक्षको आरोप छ । यद्यपि काफ्ले समूहले नेताद्वयले आफूहरु माथि हातपात गरेको दावी गर्दै आएको छ ।
जसकारण आज पार्टी कार्यालय प्रवेशमा कडाइ गरिएको छ । प्रदर्शनमा उत्रिएका विद्यार्थी नेताहरुलाई पार्टी कार्यालयको मुल गेट प्रवेशमा रोक लगाइएको छ ।