
काठमाडौं , सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालले शनिवार काठमाण्डौमा आयोजना गरेको प्रथम गोष्ठी तथा ‘सार्वजनिक यातायात क्षेत्रका विद्यमान समस्या र समाधान’ विषयक अन्तरक्रियामा नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले सार्वजनिक यातायातप्रति जनताको वर्तमान सोच परिवर्तन हुने गरी नवीनतम् प्रविधिको प्रयोग गर्दै सेवा प्रदान गर्न व्यवसायीले ढिलाई गर्न नहुने बताउनु भएको छ । सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन सरकारले स्पष्ट नीति ल्याउनुपर्ने कुरामा मल्लले जोड दिनु भयो । व्यवसायी एवं युनाइटेड भलाइ कोषका अध्यक्ष राजेन्द्र तिवारीले सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन सबैको सहकार्यको आवश्यकता भएको बताउनु भयो । उहाँले सहकार्य र सहकारिताको भावनाबाट व्यवसायी अघि बढ्नुपर्ने कुरामा जोड दिनु भयो । कानून व्यवसायी मनिषकुमार श्रेष्ठले यातायात समिति कम्पनी ऐनअन्तर्गत दर्ता भई यातायात व्यवस्था कार्यालयमा पञ्जीकरण गरिनुपर्ने व्यवस्था भए पनि यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०७४ ले साना व्यवसायीको भावना समेट्न नसकेको बताउनु भयो । सार्वजनिक यातायात केन्द्रीय महासङ्घका अध्यक्ष होम प्रसाद अधिकारीले सार्वजनिक यातायात केन्द्रीय महासङ्घ सार्वजनिक यातायात क्षेत्रको सुरक्षित, मर्यादित र गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध रहेको बताउनु भयो । उहाँले सार्वजनिक यातायात क्षेत्रमा देखा परेका चुनौतीको सामाना गदै अघि बढने बताउनु भयो । उहाँले आवश्यक नीति निर्माणमा सरोकारवाला निकायलाई सहयोग एवं सहजता प्रदान गर्न सार्वजनिक यातायात केन्द्रीय महासङ्घ स्थापना भएको जानकारी दिनु भयो । महासङ्घले नयाँ प्रविधिको प्रयोग गर्दै सर्वसाधारणलाई सेवा प्रदान गर्ने उद्देश्य राखेको अध्यक्ष अधिकारीले बताउनु भयो । उहाँले नेपालभर सञ्चालनमा रहेका सार्वजनिक यातायातका सवारी साधनमा यात्रा गर्न ‘इ–टिकेट’ प्रणाली लागू गरी घरैबाट टिकेट लिने र भुक्तानी गर्ने व्यवस्थालाई अनिवार्य गर्ने तयारी भइरहेको बताउनु भयो । यातायातका क्षेत्रमा भइरहेका एकताधिकार अन्त्य गरदै प्रतिस्पर्धात्मक वातावरणमा सेवा प्रदान गर्न गत मङ्सिर २२ गते महासङ्घको स्थापना भएको अध्यक्ष अधिकारीले जानकारी दिनु भयो । उहाँका अनुसार महासङ्घमा १११ यातायात कम्पनी आबद्ध भएका छन् । महासङ्घका महासचिव गणेश उप्रेतीले सार्वजनिक यातायात केन्द्रीय महासङ्घ सार्वजनिक यातायात सेवाको संरक्षण, सम्बद्र्धन गर्दै सुरक्षित, मर्यादित र गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध रहेको बताउनु भयो । सार्वजनिक यातायात क्षेत्रमा देखा परेका चुनौतीको उचित समाधान र आवश्यक नीति निर्माणमा सरोकारवाला निकायलाई सहयोग एवं सहजता प्रदान गर्न स्थापना भएको सार्वजनिक यातायात केन्द्रीय महासङ्घ निरन्तरण अघि बढने जानकारी दिनु भयो । महासङ्घले अग्रगामी सोचका साथ नवीन प्रविधिको प्रयोग गर्दै सर्वसाधारणलाई सेवा प्रदान गर्ने उद्देश्य राखेको महासचिव उप्रेतीले बताउनु भयो । कार्यक्रम सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपालका अध्यक्ष होम प्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो ।
