
काठमाडौं , प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार विरोधी आवाजलाई दबाउने नियतका साथ सूचना प्रविधिसम्बन्धी विधेयक ल्याईएको भन्दै चर्को विरोध गरेका छन् ।प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलमा सहभागी हुदै प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले सरकारले गलत मनसायका साथ विरोधीलाई अंकुश लगाउने अभिप्रायसाथ विधेयक ल्याएको भन्दै विरोध गरेका हुन् ।सांसद गगन थापाले सरकारविरोधी आवाजलाई नियन्त्रण गर्ने मनसायका साथ विधेयक ल्याईएको टिप्पणी गर्नु भयो । उहाँले अभिव्यक्ति स्वतन्त्रतालाई अंकुश लगाउने प्रयास नगर्न सरकारलाई चेतावनी दिनु भयो । उहाँले संविधानले प्रत्याभुत गरेको अभिव्यक्ति स्वतन्त्रताको अधिकार हनन हुने तर्फ सरकार गम्भीर नभएको टिप्पणी गर्नु भयो । सांसद डिला संग्रौला पन्तले प्रेस र अभिव्यक्ति स्वतन्त्रता विरुद्ध सूचना र सञ्चार माथि अंकुश लगाउने दुष्प्रयासका साथ विधेयक ल्याईएको टिप्पणी गर्नु भयो । विधेयक अधिनायवाद र सर्वसत्तावादको संकेत भएको भन्दै संशोधनको माग गर्नु भयो । सांसद पुष्पा भुसाल गौतमले समाजिक सञ्जाललाई दर्ता गर्ने नभई अभिलेखीकरण र व्यवस्थित गर्नुपर्ने धारणा राख्नु भयो । उहाँले विधेयकमा गरिएको कारवाहीको व्यवस्था सूचनाको हकको अधिकार विपरित भएकाले संशोधन गर्नुपर्ने माग गर्नु भयो । सांसद योगश भट्टराईले विधेयकमा व्यक्तिगत रुपमा खोलिएका नभई फेसबुक वा ट्वीटर कम्पनीलाई नेपाल सरकारको कानुन मातहत ल्याउन खोजिएकाले सोही अनुसार बुझ्न आग्रह गर्नु भयो । उहाँले बढ्दो सूचना प्रविधिलाई व्यवस्थित र मर्यादित ढंगले प्रयोग गरि समाजलाई आधुनिक र सभ्य समाजको रुपमा स्थापित गर्न विधेयकले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भयो । सांसद महेश बस्नेतले सोसिलय मिडियालाई नियमन गर्नका लागि विधिसम्मत बनाई राजश्वको दायरामा ल्याउने ढंगले आएको विधेयकको समर्थन गर्नु भयो । सांसद नवराज सिलवालले सामाजिक सञ्जालले उत्पन्न गराउने समस्या समाधान गर्ने ढंगले विधेयक आएको बताउनुभयो ।सैद्धान्तिक छलफलपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पेस गरेको सूचना प्रविधि सम्बन्धी विधेयक २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतबाट पारित भएको छ ।प्रतिनिधिसभाको अर्को बैठक आगामी मंगलबार ११ बजेका लागि बोलाइएको छ ।
