
काठमाडौं, एलपी ग्यास उद्योगीहरुले घोषणा गरेको आन्दोलनका कार्यक्रमहरुमा ग्यास बिक्रेता महासंघ नेपालले ऐक्यवद्धता जनाएको छ।शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेर उद्योगीहरुको आन्दोलनमा आफ्नो पनि समर्थन रहेको र माग पूरा नभए ग्यास बिक्रीवितरण ठप्प पार्ने चेतावनी दिएका छन्।यसअघि गत बिहीबार उद्योगीहरुले पत्रकार सम्मेलन गरेर आफ्ना मागहरु पुरा नभए १० दिनभित्र आन्दोलन गर्ने चेतावनी दिएका थिए। त्यसको दुई दिनमै बिक्रेताहरुले पत्रकार सम्मेलन गरेर बिक्रीवितरण नै ठप्प पार्ने चेतावनी दिएका हुन्।संघका अध्यक्ष महेश्वरकुमार श्रेष्ठले ग्यास बिक्रीवितरण ठप्प पार्नु रहर नभई बाध्यता भएको दाबी गर्नु भयो । सरकारले लामो समयसम्म पनि आफ्ना मागहरुका सम्बन्धमा सुनुवाइ नगरेको कारण बाध्य भएर आन्दोलनको घोषणा गर्नुपरेको अध्यक्ष श्रेष्ठले बताउनु भयो । अझै पनि सरकारले जायज मागहरु पुरा गरे आन्दोलनका कार्यक्रमहरु स्थगित गर्ने उहाँको भनाइ छ।
