
काठमाडौं , नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले राष्ट्रको सार्वभौमिकता माथि धावा बोल्ने र गैरकानुनी गतिविधिविरुद्धमा संलग्न कसैलाई नछोड्न निर्देशन दिनु भएको छ । यही फागुन ७ गतेको निर्णयले प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी र प्रहरी उपरीक्षक एसपी पदमा पदोन्नति भएका प्रहरी अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गर्ने कार्यक्रममा खनालले यस्तो बताउनु भएको हो ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रमले स्रोत साधन परिचालन लगायतमा सहजता आएको चर्चा गर्दै उहाँले अबको चरणमा नागरिक समाजलाई नै नेतृत्व दिँदै थप सक्रिय बनाएर कार्यक्रमलाई अघि बढाउनुपर्ने बताउनु भयो ।
दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरुमा प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षकमा पदोन्नति भएका १३ जना र प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षकमा पदोन्नति भएका २६ जना रहेका छन् । पदोन्नति भएका १ जना प्रहरी वरिष्ठ उपरीक्षक हाल संयुक्त राष्ट्र संघीय मिसनमा कार्यरत रहेका छन् ।
