
काठमाडौं, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपालाई भत्काउन केही प्रतिक्रियावादी शक्तिहरु लागि परेकाले सर्तक रहनुपर्ने बताउनु भएको छ । जनयुद्ध दिवसका अवसरमा पार्टी कार्यालय धुम्वाराहीमा भएको कार्यक्रममा अध्यक्ष प्रचण्डले नयाँ र मौलिक ढंगले नेपालको कम्युनिष्ट आन्दोलन अघि बढेको सामन्ती तथा प्रतिक्रियावादी शक्तिहरुलाई चित्त नबुझेकाले उनीहरु नेकपाको एकता र नेकपाको सरकारलाई भत्काउन प्रयासरत रहेकाले त्यसतर्फ सचेत रहनुपर्ने बताउनु भएको हो । प्रचण्डले जनताको आन्दोलनको बलमा बनेको पार्टीलाई एकढिक्का राख्न सवैले संकल्प गर्नुपर्ने बताउनु भयो । उहाँले विगत तीन दशकको अवधिमा नेपालमा दुई कम्युनिष्ट धाराको जन्म भएको भन्दै एकले शान्तिपूर्ण संसदीय अभ्यास र अर्कोले जनयुद्धका रुपमा कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन प्रयोग भएको बताउनु भयो । उहाँले शान्तिपूर्ण र प्रतिस्पर्धात्मक रुपले मुलुकलाई अघि बढाउने लोकप्रिय नेतालाई सम्झेर गर्व गर्नुपर्ने बताउनु भयो । उहाँले समाजवाद उन्मुख राज्यनिर्माण गर्नेतर्फ उन्मुख भएको दावी गर्दै विगतका क्रान्तिका लेखाजोखा गरेर समाजवाद उन्मुख नयाँ मोडेल प्रस्तुत गर्ने आफूहरुको तयारी रहेको बताउनु भयो । उहाँले संसारका सवैखाले शक्तिहरुले नेपालबारे तिखो आँखाले हेर्नुपर्ने अवस्था सिर्जना गरेकोमा गौरव लागेको पनि बताउनु भयो ।
उहाँले मानिसहरुले कल्पना नगरेको भन्दा नयाँ ढंगले राजनीतिक परिवर्तनका लागि काम गरेको भन्दै पछिल्लो समय झण्डै दुई तिहाईको सरकार बन्नसक्नु पनि त्यसैको परिणाम भएको बताउनु भयो । कार्यक्रममा महासचिव विष्णु पौडेलले जनआन्दोलन र जनयुद्धका सहिदहरुप्रति श्रद्धान्जली व्यक्त गर्दै जनआन्दोलन र जनयुद्धकै माध्यमबाट आजको परिवर्तन सम्भव भएको बताउनु भयो ।उहाँले जनआन्दोलन र जनयुद्धको माध्यमबाट मुलुकमा आज समाबेशी संविधान निर्माण भएको तथा असमानता र विभेदलाई हटाउने प्रयासमा लागेको बताउनु भयो ।
